काठमाडौं– विभागीय टिम एपिएफ क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो।
नेपालगन्जस्थित रंगशाला परिसरमा भएको फाइनलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो। एपिएफले उपाधि जित्ने क्रममा अपराजित रहँदै १२ अंक जोड्यो। उविजेता बनेको पुलिसले ८ अंक बनायो।
पहिलो सेट २५–२२, दोस्रो २५–२१ र तेस्रो सेटमा एपिएफले पुलिसलाई २५–१९ ले हराउँदै उपाधि जित्न सफल भएको हो।
उपाधिसँगै एपिएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। उविजेता बनेको पुलिसले २ लाख रुपैयाँ पायो। तेस्रो भएको न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख तथा चौथो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार रुपैयाँ पाएको छ।
एपिएफ क्लबकी सरस्वती चौधरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। सरस्वतीले २५ हजार रुपैयाँ प्राप्त गरिन्। विधागततर्फ नेपाल पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर घोषित भइन्।
एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन्।
एपिएफका महेश चौधरी प्रतियोगताको उत्कृष्ट प्रशिक्षक चुनिए। विधागततर्फ उत्कृष्ट भएका सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरे।
बाँके जिल्ला भलिबल संघको आयोजनामा २१ फागुनबाट भएको प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।