काठमाडौं– बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकामगरविरुद्ध अश्लील अभिव्यक्ति दिएको आरोप लागेको विनयजंग बस्नेतमाथिको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल पठाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार फाइल सरकारी वकिल कार्यालयमा पठाएको हो । बस्नेतले अश्लिल अभिव्यक्ति दिएपछि रोकामगरले महानगरीय प्रहरी परिसर काठमाडौं उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा बस्नेतलाई परिसरले फागुन ४ गते पक्राउ गरेको थियो ।
बस्नेतविरुद्ध अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको काठमाडौंका एसपी रमेशकुमार बस्नेतले बताए ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा १ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुबै सजाय र अभद्र व्यवहारको कसुरमा १ वर्षससम्म कैद वा हजार रुपैयाँसम्म जरिवनाको माग दाबी गरिएको छ ।
विनयजंगसँगै सपनाले पनि पशुपतिमा बेवारिस शव जलाउने काम गरेकी थिइन्। केही समयअघिसम्म उनीहरु बाबुछोरीजस्तै भएको भन्दै अभिव्यक्ति दिन्थे।
तर अहिले बाबुछोरी भनिएका यी दुई जनाको विषय सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेको छ। विनयले विभिन्न युट्युब च्यानलहरुमा सपनाविरुद्धको नकारात्मक अभिव्यक्ति दिएको र उनको चरित्र हत्या गराउने किसिमका अभिव्यक्ति दिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।