काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाको अध्यक्षमा योआन लापोर्ता फर्किएका छन्। आइतबार भएको चुनावबाट उनी ५४ प्रतिशत मतसहित विजयी भएका हुन्। प्रतिस्पर्धामा रहेका भिक्टर फोन्टले ३० प्रतिशत साथै टोनी फ्रेइजाले ९ प्रतिशत मत ल्याए।
बार्सिलोनाका १ लाख ९ हजार ५३१ सदस्यमध्ये ५५ हजार ६११ जनाले मतदान गरेका थिए। यसअघि अध्यक्ष रहेका जोसेप मारिया बर्टामेउ गएको अक्टोवरमा अविश्वासको प्रस्तावपछि हटेका थिए। बार्सिलोनामा मैदानबाहिरका गतिविधि र भ्रष्टाचारका कारण बर्टामेउमाथि पछिल्ला वर्ष लगातार प्रश्न उठिरहेको थियो।
यसले बार्सिलोनामा बिग्रिएको अवस्था सुधार्न लापोर्ता उपयुक्त हुने क्लबसँग नजिक रहेकाको विश्लेषण छ। कोभिडपछि बार्सिलोनामा देखिएको आर्थिक संकट कम गर्ने उनका लागि मुख्य चुनौती छ। गएको सिजन नै बार्सिलोना छाड्न चाहेक कप्तान लियोनल मेस्सीलाई क्लबमा नै राख्न लापोर्ताको जित महत्वपूर्ण रहेको विश्लेषण भइरहेको थियो।
यसअघि लापोर्ता सन् २००३ देखि २०१० सम्म बार्सिलोना अध्यक्ष रहँदा मेस्सीको उच्च फुटबल सुरु भएको थियो। त्यही समय बार्सिलोनाले विभिन्न १२ उपाधि जितेको थियो। उनकै समयमा पेप गार्डिओलाले बार्सिलोनालाई क्लब फुटबलको उचाइमा राख्न सुरु गरेका थिए। लापोर्ताले आफ्नो पहिलो समयमा ब्राजिलियन सुपरस्टार खेलाडी रोनाल्डिन्होदेखि क्यामरुनका फरवार्ड स्यामुअल इटोसम्मलाई क्लबमा आबद्ध गर्न सकेका थिए।
जसले उनले दुई पटक च्याम्पियन्स लिग, चार पटक ला लिगा र एक कोपा डेल रे उपाधि जितेका थिए। यो सिजन बार्सिलोनाले ला लिगा उपाधिमा प्रतिस्पर्धा दिइरहेको छ भने च्याम्पियन्स लिग अन्तिम १६ मा पिएसजीसँग पहिलो लेगमा ४–१ ले पछि रहेको छ। कोपा डेल रेको फाइनलमा एथ्लेटिक क्लबसँग खेल्दै छ। नयाँ अध्यक्ष लापोर्ताले क्लबमा एकेडेमीका खेलाडीलाई अगाडि बढाउने र उपाधिमा बढ्ने दीर्घकालीन योजना बनाएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।