काठमाडौं– न्यु डायमन्ड स्पोर्ट्स क्लबले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा जित निकालेको छ। न्यु डायमन्डले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो।
नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा आइतबार भएको खेलमा न्यु डायमन्डले आर्मीलाई ३–१ को सेटमा पराजित गर्न सफल भयो। न्यु डायमन्डले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै जिततर्फ अघि बढेको थियो। तर, तेस्रो सेट न्यु डायमन्डले २३–२५ ले गुमाएपछि चौथो सेटमा खेल लम्बिएको थियो। चौथो सेटमा न्यु डायमन्डले उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले जित्न सफल भयो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी डायमन्डकी झरना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन्। जितसँगै डायमन्डले दुई खेलबाट ४ अंक बनाएको छ। पराजित आर्मीको तीन खेलबाट ३ अंक छ। शीर्षस्थानमा रहेको एपिएफको ६ तथा दोस्रो स्थानमा रहेको पुलिसको ५ अंक छ।
प्रतियोगितामा आइतबार नै भएको अर्काे खेलमा विभागीय नेपाल एपिएफ क्लबले लुम्बिनी युनाइटेडमाथि ३–० को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो। एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ ले पराजित गरेको हो। एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच भइन्।
लिगमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ। लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ।
लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।