काठमाडाैं– शुक्रबारदेखि देशभरका हलमा लागिरहेको छ, फिल्म गोर्खे। गोर्खे, फिल्म प्राविधिकहरु हरि लामा, हरी थापा र तिर्थ कोजुले निर्माण गरेका हुन्।
भान्छादेखि स्पटका काम गरेर जम्मा पारेको पैसा तीनजना प्राविधिकले फिल्ममा लगानी गरेका हुन्। यही फिल्मका लागि अन्य राम्रा ब्यानरका फिल्म त्यागेका कलाकार हुन्, अर्जुन गुरुङले। यस फिल्मा उनी मुख्य भूमिकामा देखिएका छन्।
प्रायः सहायक भूमिकामा देखिने अर्जुन मुख्य भूमिकामा मात्रै हैन, नायिका एन्जल श्रेष्ठसँग रोमान्स गरिरहेको पनि देखिन्छन्। यी दुईलाई फिचर गरिएको ‘गाउँ भरी हल्ला छ, भागौं सानी भागौं’मा दर्शकले यो जोडीलाई मन पराएका छन्।
अर्जुन खलनायक वा हाँस्य पात्रका रुपमा धेरै फिल्ममा अटाएका छन्। त्यस्ता पात्रलाई निकै रुचाइएको पनि छ। तर, उनलाई निकै चिनाएको पात्र भने ‘भंगेरी डन’ हो।
उनलाई आउने फिल्ममा पनि यस्तै सहायक भूमिकामा नै जोड दिने रहर छ। भन्छन्,‘मलाई रोमान्टिक सिन गाह्रो लाग्यो। अलि कम्फटेवल पनि भइनँ। त्यसैले आउने दिनमा पुरानै चरित्र खलनायक या सहायक हाँस्य चरित्रलाई नै प्राथमिकता दिन्छु। मलाई सहायक पात्रको राजा बन्ने मन छ।’
गोर्खे फिल्ममा लाहुरे बाबुका छोराको भूमिकामा छन् उनी। जसलाई जसरी भएपनि लाहुरे बन्नुछ। लाहुरे बनेर बाहुनकी छोरी बिहे गर्ने दाउमा रहेका अर्जुन फिल्ममा कत्तिको सफल हुन्छन्, त्यो थाहा पाउन भने हलमा नै जानुपर्ने हुन्छ। अर्जुनका अनुसार गोर्खे फिल्म इतिहासमा आधारित सत्य कथा हैन, तर यो समाजमा घटिरहने घटना भने हो।
पहिलो दिन, हलमा दर्शकको खासै उपस्थिती थिएन। नत चलचित्र क्षेत्रका अन्य कलाकारले नै फिल्म हेर्ने जाँगर देखाए। फिल्म हलमा लागेको पहिलो दिन नै चलचित्रकर्मी र पत्रकारका लागि बिशेष सो राखिएको थियो। त्यहाँसमेत निकै न्यून कलाकर्मी उपस्थित भए।
प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल र गायक युवराज चौलागाईँ मात्रै उपस्थित थिए।
यस बिषयमा अर्जुनले भने, ‘कोभिडका कारण ११ महिनासम्म हल बन्द भयो। अहिले बल्ल खुलेकाले दर्शक डराइरहेका छन्। हामीले एक्कैचोटी हलभरी दर्शक खोजेर पनि भएन नि।’
अर्जुनले डर पनि माने। उनले भने, ‘दर्शकले लकडाउनको समयमा बिदेशका फिल्म र सिरिज धेरै हेर्ने गरेका छन्। नेपाली फिल्मलाई पनि हलिउड र बलिउडसँग तुलना पो गर्ने हुन् कि।’ उनका अनुसार यो नेपाली फिल्मका लागि चुनौती हो। उनले थप जोड दिँदै भने, ‘चुनौती हो भन्दैमा हामी अरुको नक्कल गर्नपनि सक्दैनौं। महंगा एनिमेशन प्रयोग गरिएका फिल्म भन्दा परिकल्पनामा आधारित सामान्य कथा नै नेपाली फिल्मको भविष्य हो।’
कोभिड–१९ ले जन्माएको लकडाउनमा अर्जुन ब्यस्त नै रहे। उनले लकडाउनको समयमा आफ्नो टोलीसँग मिलेर एउटा सिरिज समेत बनाएका छन्। उक्त सिरिज प्रर्दशनीमा आएको छैन। समय अनुसार ढाल्न सकिने भएकाले त्यसको नामाकरणसमेत हुन बाँकी रहेको अर्जुनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।