काठमाडौं– गल्फर सुमन जोशीले ‘होल इन वान’ गरेर नेपालमै पहिलोपटक पुरस्कार स्वरुप कियाको ‘सोनेट कार’ जितेका छन्। सुमनले स्वर्गीय आङ छिरिङ शेर्पा स्मृतिको सम्झनामा आयोजित गल्फ प्रतियोगितामा ‘होल इन वान’ गर्दै कार जितेका हुन्।
कार पुरस्कारको प्रायोजन कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गरेको हो। गल्फ प्रतियोगिताको उपाधि भने सुनिल कार्कीले जितेका छन्। विभिन्न १० विधामा भएको प्रतियोगितामा ४१ अंकका साथ पहिलो भएका सुनिलले उपाधिसँगै यती माउन्टेन होम कोङ्दे, सोलुखुम्बुमा ४ जनाको लागि ‘ब्रेकफास्ट’ गर्ने अवसर पाएका हुन्। ‘ब्रेकफास्ट’का लागि काठमाडौंबाट एयर डाइनेस्टीको हेलिकप्टर राइडको सुविधा पाउनेछन्।
त्यस्तै, हृयदेश कुमार सिंहले प्रतियोगितामा ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जितेका छन्। ‘बेस्ट ग्रस’ रनरअपको उपाधि विजय श्रेष्ठले प्राप्त गरे। स्वर्गीय आङ छिरिङ शेर्पाको ‘फेवरेट होल’ (होल नम्बर १३) मा बाबु शेर्पाले ‘होल’को सबैभन्दा नजिक प्रहार गरेर विजेता बने। प्रतियोगिताको उपविजेताको उपाधि ४० अंकका साथ ताहिर शाहले हात पारेका छन्।
महिलातर्फको उपाधि ३८ अंकका साथमा कश्मिरा शाहले जितेकी छिन्। उपाधिसँगै तारा एअरबाट काठमाडौं–लुक्ला–काठमाडौंको हवाई टिकट सहित यती माउन्टेन होम खाँग्रीमा २ जनाका लागि ब्रेकफास्ट, लन्च र डिनर गर्ने अवसर जितेकी छिन्। त्यस्तै, महिलातर्फ रनरअपको विजेता गिता गुरुङ बनिन्।
सिनियरतर्फको विजेता प्रदिप कुमार श्रेष्ठ बने। जुनियरतर्फ ४४ अंकका साथ शयान बस्नेत विजेता बने। त्यस्तै, तासी छिरिङ ‘डोङ लंगेस्ट ड्राइभ’ विधाको विजेता बने। दावा जे शेर्पाले प्रतियोगिताको मोस्ट बर्डिज उपाधि जिते। ‘क्लोटेस्ट टु द पिन’ तर्फको उपाधि सुरेन्द्र फुँयालले पाए।
आङ छिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स, तारा एअर र गोकर्ण फरेस्ट रिसोर्टले संयुक्त रुपमा गल्फ प्रतियोगिताको आयोजना गरेको थियो। दुई दिनसम्म चलेको प्रतियोगितामा १६० जनाले सहभागीता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।