काठमाडौं– लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै जितसमेत निकाले छन्। प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा बिहीबार बिवेकले जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका हुन्।
पुरुष एकलको प्रतिस्पर्धामा बिवेकले सुनसरीका प्रकाश लिम्बुलाई २१–१४, २१–१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन्।
बिवेक २०६४ सालमा चितवनमा भएको ३४ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यु–१६ जुनियर च्याम्पियन रहिसकेका खेलाडी हुन्।
उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरकै रत्नजित तामाङलाई पराजित गर्दै च्याम्पियन भएका थिए। यस्तै उनी सिनियरतर्फ राष्ट्रिय च्याम्पियनमा सेमिफाइनल र पुरुष युगलतर्फका फाइनल पुगेका खेलाडी हुन्।
प्रतिभावान खेलाडीको रुपमा हेरिएका बिवेकले ३ वर्ष अगाडि सुनसरीको इटहरीमा भएको सातौं पुष्पलाल र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितापछि घरायसी कारणले खेललाई अगाडि बढाउन सकेका थिएनन्।
बिवेकले पुरुष युगलतर्फ पनि जित निकाले। उनले विशाल तामाङसँग मिलेर दिङ्ला भोजपुरका लेखनाथ श्रेष्ठ र बुद्ध तामाङको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन्। त्यस्तै, नम्बर १ खेलाडी रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्यस्तै पाँचथरका एसिया जवेगु र दिवस शंकरको जोडी, सुनसरीका सुजन श्रेष्ठ र झापाका प्रनिश सिंह ठकुरीको जोडी, भोजपुरका प्रविन बस्नेत र सुभाष तामाङको जोडी, सुनसरीका प्रकास लिम्बु र सत्यम सुब्बाको जोडी, बेलटारका बिनय चौधरी र सनिल चौधरीको जोडी र संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी पनि अन्तिम आठमा प्रवेश गरेका छन्।
भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरुमा सुनसरीका सुजन श्रेष्ठ, पाँचथरका दिवस शंकर, झापाका प्रनिश सिंह ठकुरी रहेका छन्।
त्यस्तै, पाँचथरका एसिया जवेगु, सोलुखुम्बुका पेम्बा शेर्पा, इटहरी ब्याडमिन्टन क्बलका भोज बहादुर गुरुङ र संखुवासभाका पविन लिनथेप क्वार्टरफाइनलमा पुगेका छन्।
महिला एकलतर्फ सुनसरीकी सृष्टि चामलिङ राईले बेलटारकी स्मृती राईलाई, बेलटारकी रोजी राईले भोजपुरकी मेनुका तामाङलाई र धनकुटाकी अरुणा तामाङले भोजपुरकी मन कुमारी राईलाई पराजित गर्दै अन्तिम आठ प्रवेश गरे।
यु–१७ छात्रा तर्फको खेलमा मोरङकी रोज पाण्डे र बेलटारकी रोजी राई सेमिफाइनल प्रवेश गरे। त्यस्तै बेलटारकी स्मृती राईले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुदेस्ना गुरुङलाई र सुनसरीकी सृष्टि चामलिङ राईले अन्जना राईलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए।
ब्वाइजतर्फको खेलमा बेलटारका बिनय चौधरीले भोजपुरका युनिश राईललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे।
अब बिनयले फाइनल प्रवेशका लागि इटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङको सामना गर्ने छन्। भोजले संखुवासभाका निशान कटवाललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।
त्यस्तै अर्को खेलमा सुनसरीका सत्यम सुब्बाले चौदण्डीगढीका सनिल चौधरीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
अब फाइनल प्रवेशका लागि खोटाङका सनम राईसँग प्रतिस्पर्धा गर्ने छन्। सनमले संखुवासभाका सुनिल कार्कीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।