काठमाडौं– पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ। नेपाल भलिबल संघले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन रहेको भलिबल लिगमा पुरुषतर्फ ८ र महिलामा ६ टिमको सहभागिता रहनेछ। पुरुष र महिला दुबैमा पहिले सिंगल राउण्ड रोविन लिगका आधारमा खेल खेलाइने छ। शीर्ष दुई टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ।
पुरुष प्रतिस्पर्धामा एचएनसिएस क्लब, एपिएफ क्लब, नेपाल प्रहरी, नेपाली सेना, नयाँबजार सामाजिक युवा क्लब, बुद्ध टोल भलिबल क्लब, बुटवलको मणिमुकुन्द क्लब र बुलबुले रारा क्लबको सहभागिता रहनेछ।
महिला प्रतियोगितामा एपिएफ, आर्मी, पुलिस, न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरक्तपुर मेट्रो खेलकुद परिषद्को सहभागिता रहनेछ।
आठ दिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा हुनेछ।
एक टिमले ३ विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए। त्यस्तै, प्रत्येक टिमले तयारी र यातायात खर्च बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
पुरुष र महिला टिम र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीका लागि समान पुरस्कार राशी राखिएको छ। शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३ लाख, १ लाख ५० हजार, ७५ हजार र ३७ हजार ५०० रुपैयाँ प्राप्त गर्ने छन्।
सर्वोत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले समान १०–१० हजार नगद पाउने छन्।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलसंग जोडिन पाउँदा खुशी लागेको बताए।
भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले बैंकले भलिबल संघ प्रति देखाएको विश्वासका लागि धन्यवाद दिँदै आउँदो संस्करणहरुमा पनि बैंकको साथ र सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।