काठमाडौं– भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भइसकेको आयाेजकले जनाएकाे छ। प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल सोमबार नै भोजपुर पुगिसकेका छन्।
प्रतियोगिताका लागि नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ र नङ्शल तामाङसँगै नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर पुगिसकेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरेको भोजपुरमा ठूला प्रतियोगिताहरु नभइरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरुले खेलाडी उत्पादनमा निकै सहयोग पुग्ने संघका अध्यक्ष बिकास श्रेष्ठले बताए।
‘भोजपुरमा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले हामीले पहिलो पटक जिल्लाभित्रका मात्रै यु १३ को ब्वाइज र गल्र्सको प्रतियोगिता गर्न गईरहेका छौ। यसले खेलाडी उत्पादनमा सहयोग पुग्नेमा म बिश्वस्त छु’, अध्यक्ष श्रेष्ठले भने।
राष्ट्रिय च्याम्पियन सरादेवी तामाङ, बिकास श्रेष्ठ, नङ्शल तामाङ, विवेक श्रेष्ठ, रत्नजित तामाङ, नविन श्रेष्ठ भोजपुरकै खेलाडी हुन्।
सदरमुकामस्थित भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु–१७ र यु–१३ ब्वाइज तथा गल्र्स, गरि ९९ खेलाडीहरुले कुल ७ विधामा प्रतिस्पर्धा गर्ने छन्।
करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५०० नगद प्राप्त गर्ने छन्।
महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु–१७ ब्वाइज र गल्सतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद पाउने छन्।
यु–१३ का शीर्ष तीनका खेलाडीहरुले प्रोत्साहन स्वरुप ५ हजार, ३ हजार र १५ सय नगद पाउने छन्। प्रतियोगितालाई भोजपुर नगरपालिकाले सात लाख नगद सहयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।