काठमाडौं–नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र रूपमा सक्रिय संगठनले पाँच बुँदे प्रतिवद्धतासहित सोमबार संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागत रूपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि राष्ट्रिय अभियान चलाउने विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, नेपाल पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनको अनिवार्य प्रतिनिधित्व हुने वार्ता–संवाद थाल्नेसमेत विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष विनोद पहाडी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भुसाल, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर विक, जागरण मिडिया सेन्टरका अध्यक्ष रेशबहादुर विक, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, सञ्चारगृहका पीडित पत्रकार\कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष धमेन्द्र कर्ण, स्थानीय पत्रकार नेपालका अध्यक्ष शंकरप्रसाद ज्ञवालीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, स्वतन्त्र पत्रकार संगठन नेपालका संयोजक एलएस लामा, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्र प्रसाई, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी र अनलाइन मिडिया नेटवर्ककाका महासचिव लोकश लिवाङ लिम्बुले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।