काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना भएका छन्।
मधुमेह र ग्याँष्ट्राइटिसका बिरामी उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका हुन्। इन्डोक्राइनोलोजिष्ट डा ज्योति भट्टराईको क्लिनिकमा नियमित जाँचमा पुगेका उनको रगतमा अक्सिजनको मात्रा कमी देखिएपछि नर्भिक रिफर गरिएको हो।
आइतबार नर्भिकमा आउँदा उनको रगतमा अक्सिजनको मात्रा ९० भन्दा कम रहेको उपचारमा संलग्न कार्डियोलोजिष्ट डा जेपी जैसवालले बताए। यसैगरी जाँचका क्रममा निमोनिया र मुटुमा समेत समस्या देखिएको उनले बताए।
अहिले उनको निमोनियाको उपचार भइरहेको छ। सुरुमा आइसियूमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको डा जैसवालले बताए।
पूर्वमन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको पनि नर्भिक अस्पतालमा उपचार भइरहेको छ। मस्तिष्कघात भएपछि उनलाई शुक्रबार बिहान नर्भिक लगिएको थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।