काठमाडौं- ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन भने फागुन १९ गते बुधबार हुनेछ।
खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडि नै प्रतियोगिता आयोजना गरेको आयोजकले जानकारी दिएको छ। २२ गतेसम्म चल्ने प्रतियोगितामा १७३ खेलाडी सहभागी छन्।
नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा भइरहेको प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह रहेका छन्। पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी माथिको तौल समूह समावेश छन्।
प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रो हुनेले सात हजार र तेस्रो हुने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउने छन्।
पहिलो दिन पुरुष ५२ केजीमा आइएमटिडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गरे। ५६ केजीमा सिन्धुलीका अजय चौधरीले मकवानपुरका महेन्द्र राई तथा बक्समाण्डुका सुरज महर्जनले सिबिसीका लक्ष्मीप्रसाद जोशीलाई पराजित गरेका छन्।
६० केजीमा नक्साल ए का मौसम राना मगरले मेघदूतका निरज गौतम, ललितका आभाषप्रताप शाहले ए प्रोका अनिश थापा मगर, एसडब्लुटिएसबीका सन्जोक विष्टले चितवनका विवेक गुरुङलाई हराए। त्यस्तै, सिन्धुलीका निमा दावा तामाङले पाटनका रायन महर्जन, थानकोटका विजन गोपाल श्रेष्ठले रामेछापका नेत्र तिरुवा तथा टिवाइसीका अनिल पुन मगरले सिबिसीका विकास गुरुङलाई पराजित गरेका छन्।
पुरुष ६४ केजीमा ललितका सनिल शाहीले टिकाथलीका निशान दास, रसुवाका रोविन प्रधानले एफ प्रोका प्रनिमेश थापा, धादिङका पवन गुरुङले टिवाइसीका दिनेश भण्डारी, सिबिसीका कमल श्रेष्ठले एसडब्लुटिएसबीका तुफान शाही, प्लाटिनमका अविश्वनदेव श्रेष्ठले रामेछापका सुमन श्रेष्ठ तथा बक्समाण्डुका चन्द्र देवा तामाङले थानकोटका मनिष श्रेष्ठलाई हराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।