काठमाडौं- संघीय संसद्, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन्। संसद सचिवालयले स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखालाई खोप लगाउने सांसद तथा संसदका कर्मचारीहरुको विवरण समेत पठाइसकेको छ।
शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले संसद सचिवालयबाट खोप लगाउन १५ सय जनाको विवरण प्राप्त भइसकेको जानकारी दिए। ‘हिजो नै संसद सचिवालयलाई खोप लगाउनेको विवरण माग गरेका थियौं,’ डा गौतमले भने, ‘खोप लगाउने सांसद तथा कर्मचारीहरु १५ सय जना हुनुहुन्छ भन्ने जानकारी प्राप्त भएको छ।’
डा गौतमका अनुसार सांसद तथा कर्मचारीहरुलाई फागुन १९, २० र २१ गते बानेश्वरस्थित् निजामती अस्पतालमा खोप लगाउने तयारी गरिएको छ। ‘संसद सचिवालयका सांसद तथा कर्मचारीको विवरण संकलन गरि तीन दिनमा खोप लगाइसकिन्छ भनेर स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएका छौं,’ डा गौतमले भने, ‘स्वास्थ्य मन्त्रालयबाट निर्णय आएपछि सांसदका लागि खोप कार्यक्रम सुरु हुन्छ।’
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पनि आगामी फागुन १९, २० र २१ गते सांसद तथा सबै कर्मचारीलाई खोप लगाउने तयारी भइसकेको बताए। प्रवक्ता पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, कर्मचारीहरु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, सुरक्षाकर्मी, मर्यादा पालक र संसदीय मामिला विटका पत्रकार लगायत करिब १५ सय जनालाई खोप लगाइने जानकारी दिए।
उनका अनुसार सांसद तथा कर्मचारीका लागि निजामती अस्पतालमा १९ देखि २१ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।