काठमाडौं- पूर्वउपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा दोश्रो स्मृति दिवस मनाइने भएको छ। भरतमोहन अधिकारीको स्मृति फाउन्डेसनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह–आयोजनामा मंगलबार विराटगरमा हुने स्मृति सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि छन्। नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन्।
कार्यक्रममा अधिकारीले वामपन्थी आन्दोलनमार्फत् नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा, अग्रज कम्युनिष्ट र ज्येष्ठ नागरिक सम्मान तथा फाउन्डेसनको प्रदेश–१ समिति घोषणा गर्ने कार्यक्रम रहेको फाउन्डेसनकी सदस्य एवं अधिकारी पुत्री लीमा अधिकारीले बताइन्।
विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा जन्मिएका अधिकारीको अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो। अधिकारीले कानुन तथा अर्थ राजनीतिको गहिरो अध्ययन गरेका थिए।
अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए। अधिकारीले २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको लोकप्रिय सरकारमा भरतमोहन अर्थमन्त्री थिए। अधिकारीले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत् हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गरेका थिए।
यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन्। अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि चारपटक सांसद र पाँचपटक मन्त्री भए। पटकपटक सरकारमा सहभागी हुँदासमेत उनी कहिल्यै विवादमा परेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।