काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित बनेका छन्। आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताए। कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको उनको भनाइ छ।
अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको मेयर शाक्यको आरोप छ। ‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ। पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो? के लडाउने काम हो?’, उनले भने, ‘त्यसकारण पुरातत्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोडन सकिन्न। जनता–जनता लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानुनको दायराभित्र हामी ल्याउँछौं।’
महानगरभित्र रहेका कतिपय सम्पदाहरू पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको उनको भनाइ छ। हनुमानढोकाभित्र रहेका सतलहरूमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खाली गराउन विभागलाई पत्राचार गरिसकेको बताए। सबै पसल र होटलहरू नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने उनको चेतावनी छ।
‘सतल खुल्ला नै हुनुपर्छ। बटुवामैत्री हुनुपर्छ भन्ने काठमाडौं महानगरपालिकाको धारणा हो। हामीले पत्राचार गरिसकेका छौं। पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ’, उनले थपे, ‘अरु सबैलाई सिकाएर हिँड्ने पुरातत्व विभाग आफैं होटल राखेर व्यापार गरेर पैसा काइराखेको छ। त्यसको अब हामी काठमाडौं महानगरबासी सहने छैनौं। हटाउँछौं।’
उनले पुनर्निर्माण प्राधिकरणले कुनैपनि विवादमा नबोल्दा समेत निर्माण कार्यमा ढिलाइ हुने गरेको बताए। विवाद आएपछि प्राधिकरण भाग्ने गरेको उनको आरोप छ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरूको पुनर्निर्माण गर्दा सरकारी निकायहरूबीच समन्वय हुनुपर्ने बताए। प्राधिकरण जोडिएका सम्पदाहरूको समस्या समाधानका लागि प्राधिकरणले समन्वय गरेर अगाडि बढ्ने उनको प्रतिवद्धता छ।
भारत सरकारको आर्थिक सहयोगमा सेतो पछिन्द्रनाथको मन्दिर बनाउन लागिएको पनि ज्ञवालीले बताए। भूकम्पबाट क्षति भएका सबै सम्पदाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरिरहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।