काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शनिबार बिहान टंगालस्थित् आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा उनले आग्रह तथा पूर्वाग्रहको आधारमा आफू नचल्ने समेत स्पष्ट पारे।
उनले प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदै नहुने दाबी गरे। प्रमुख आयुक्त राईले आयोगको इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने प्रतिबद्धता जनाए।
मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आमनागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको औँल्याए। आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने उनकाे प्रतिबद्धता छ।
‘आमनागरिक, मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्। उहाँहरूको अपेक्षा अनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन’, राईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।