काठमाडौं- धादिङ र सिन्धुपाल्चोकमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले आर्थिक सहयोग गर्ने भएको छ। स्वास्थ्य चौकी पुनर्निर्माणका लागि नेपालमा र भारतका निकायबीच शुक्रबार काठमाडौंमा सम्झौता भएको हो।
सम्झौतापत्रमा नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख र नेपाल सरकारका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का परियोजना निर्देशकले शुक्रबार हस्ताक्षर गरेका छन्।
भारतको आर्थिक सहयोगमा धादिङ जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो। २०७२ सालको भूकम्पले क्षति पुर्याएका यी स्वास्थ्य चौकी ५३ करोडको लागतमा पुनर्निर्माण हुन लागेका हुन्।
यी स्वास्थ्य चौकी निर्माणका लागि छनौट भएका बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न हेतु ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच चार वटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर भएको छ। यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ। केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ।
नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सोही प्रतिबद्घताअनुरुप १४७ वटा स्वास्थ्य परियोजनामध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत हुन लागेको हो। परियोजनाहरू बोलपत्र आह्वान प्रक्रियाको सुरुवाती चरणमा रहेको बताइएको छ। यी स्वास्थ्य संरचनामा ओपिडी, डिस्पेन्सरी, औषधी भण्डारण कक्ष, एन्टी/पोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्साघर, अपाङ्गमैत्री सरसफाई संरचना रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।