काठमाडौं- नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। मस्तिष्कघात भएपछि नर्भिक अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार हुने सम्भावना भने कायमै रहेकाे न्युरो सर्जन डा राजीव झाले बताए।
नर्भिक अस्पताल आइपुग्दा जाेशी कोमाको अवस्थामा रहेको डा झाले बताए। उनले भने, 'उहाँलाई वान्ता भयो। वान्ता फोक्सोमा पुगेकाले शास फेर्न गाह्रो भयो।'
आफ्नो बायाँ खुट्टा र त्यसपछि हात चल्न छाडेपछि अस्पताल लैजान जोशीले परिवारलाई भनेका थिए। वीर अस्पताल पुगुञ्जेल बोलिरहेका उनी बिस्तारै बेहोस् भएका थिए। त्यहीँ सिटी स्क्या गर्दा टाउकोमा पानी जमेको पाइएको डा झाले बताए। अवस्था गम्भीर देखेपछि वीरकै चिकित्सकले उनलाई नर्भिक पुर्याएका थिए।
त्यतिबेला जाेशीको आँखाको नानी फुलेको र आधा दिमागले काम नगरेको डा झाले बताए। फेरि सिटी स्क्यान गर्दा दिमागको तलाउ जस्तो भागमा रगत जमेर पानी निस्किने बाटो बन्द गरेको देखिएको उनले बताए। अहिले त्यसलाई निकास दिइएको बताइएको छ।
डा झाका अनुसार नेता जोशीलाई नर्भिक अस्पतालमा सास फेर्न सहज होस् भनेर आकस्मिक इन्ट्युवेसन गरिएको थियो।
जोशीले सुगर, प्रेसरको समस्या भएको र रगत पातलो हुने औषधि सेवन गरिरहेकाले शल्यक्रिया गर्दा रगतश्राव कन्ट्रोल नहुने भएकाले विशेष व्यवस्था गरेर सर्जरी गरिएको डा झाले बताए।
उनले टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १३० एमएल पानी निस्किसकेको पनि बताए। जाेशीको स्वास्थ्य अवस्था हाल स्थीर रहेको र रक्तचाप कम भएकाले रक्तचाप बढ्ने औषधि दिइएको डा झाले बताए।
‘हामीले भेन्टिलेटरमा नचल्नुहोस्, नखोक्नुहोस् भनेर राखेका छौं, यदि खोक्नुभयो, चल्नुभयो भने रक्तश्राव हुनसक्छ, यो अवस्था एकदमै जटिल अवस्था हो, यस्तो अवस्थामा १०० मा ७० प्रतिशतको मृत्यु नै हुन्छ,’ डा झाले भने, ‘बचाउने सक्ने सम्भावना ३० प्रतिशत हुन्छ।’
डा झाका अनुसार रक्तचापको समस्या लगायत रोगहरु हुँदा समयमा औषधि सेवन नगर्ने बानीले यस्तो समस्याहरु देखिएने बताए।
जोशी पूर्वउद्योगमन्त्री हुन्। उनी गएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराज श्रेष्ठसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।