काठमाडाैं- बक्स अफिसमा सफल मानिएको चलचित्र कबड्डीको चाैंथो सिरिज आउँदो वर्ष प्रदर्शन हुने भएको छ। निर्देशक रामबाबु गुरुङले यसलाई 'फाइलन म्याच' भनेका छन्।
'कबड्डी', 'कबड्डी कबड्डी' र 'कबड्डी कबड्डी कबड्डी'को सफलतासँगै कबड्डी-४ को घोषणा गरिएको हो। फिल्मका निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्म निर्माणको जानकारीसहित पोस्टर सार्वजनिक गरेका छन्।
यसअघि प्रदर्शनमा आएका फिल्मका तीनवटै सिरिजलाई दर्शकले रुचाएका थिए। यही फिल्मबाट दयाहाङ राई पनि निकै रुचाइएका थिए। उपल्लो मुस्ताङ क्षेत्रको जनजीवन र संस्कृति फिल्ममा देखाइएको थियो।
कबड्डी-४ को छायांकन आउँदो वैशाखदेखि हुनेछ। पुरानै कलाकारको बाहुल्यता रहने फिल्ममा केही नयाँ अनुहारलाई पनि देख्न सकिने निर्देशक गुरुङले नेपाल लाइभलाई बताए। 'कबड्डी कबड्डी कबड्डी'मा नायिका उपासना सिंह ठकुरीको इन्ट्री भएको थियो। त्यसअघि फिल्मको मुख्य नायिका रिश्मा गुरुङ थिइन्।
कबड्डी-४ को निर्माताको अन्तिम टुंगो लाग्न बाँकी रहेको गुरुङले बताए। गुरुङका अनुसार फिल्मको कथा भने अघिल्लो सिक्वेलमा जस्तै उनैको हुनेछ। अर्को हप्ता फिल्मबारे थप जानकारी सार्वजनिक गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।