काठमाडौं- ‘विकासका नाममा जारी प्रतिगमन विरुद्ध’ माइतीघर मण्डलमा प्रतिरोध हुने भएको छ। बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, नेवाः देय् दबूको संयोजनमा विभिन्न खलः पुचः/मोर्चा/अभियानले शुक्रबार बिहान १० बजे प्रतिरोध गर्न लागेका हुन्।
काठमाडौं बालाजु बाइपासमा जारी सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्तालाई सरकारले फागुन १२ गते गिरफ्तार गरेपछि उनीहरुले बिहीबार प्रेस विज्ञप्ति निकालेर विरोध जनाएका थिए। ‘केन्द्र सरकार, स्थानीय सरकार, जनप्रतिनिधि र उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार र जनताको उठिबासको काम रोक्का गर्न सर्वोच्च अदालतबाट जारी अन्तरकालीन आदेशलाई समेत ठाडै बेवास्ता गर्ने तथा उल्टै पीडित र अभियन्ताहरुमाथि दमन गर्ने-गराउने जुन काम गरेका छन्, त्यसको हामी विरोध र भर्त्सना गर्छौं’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।
विकासको नाममा भएको गैरन्यायिक सडक विस्तार, संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेका निजी सम्पत्तिसम्बन्धी हक-अधिकारको हनन, पीडितहरुमाथि निरन्तर दमन र अभियन्ताहरुको गिरफ्तारी आफैंमा प्रतिगमन भएको ठहर उनीहरुको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।