राजधानीमा ‘गोल्डेन एथ्लेटिक्स मिट २०२१’ आयोजना हुने भएको छ।
काठमाडौं जिल्ला एथ्लेटिक्स संघ, ललितपुर जिल्ला एथ्लेटिक्स संघ र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजना तथा प्रो स्पोर्ट्स प्रालिको संयोजकत्वमा यही फागुन २९ गते एथलेटिक्स मिट हुन लागेको हो।
एथ्लेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट समावेश हुनेछ भने जुनियर तर्फ ३ इभेन्ट समावेश रहेको आयोजकले जनाएको छ।
मिटमा सिनियरतर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, ८ सय मिटर र तीन हजार मिटर दौड समावेश छ। यस्तै जुनियरतर्फ एक सय मिटर, चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार पुरस्कार, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
गोल्डेन एथ्लेटिक्स मिटका प्रतिस्पर्धाहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।