लमजुङ- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको बताएकी छन्।
नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्र्याउने सन्दर्भमा बिहीबार इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको बताइन्।
कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लिलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उनले जानकारी दिइन्। इजरायली कृषि प्रविधिलाई नेपाल भित्र्याउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको जानकारी दिँदै उनले भनिन्, ‘अब कृषिमा यान्त्रिकरण भएन भने हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न सक्दैनौं, त्यसैले हामीले सातै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न लागेका छौं।’
लमजुङको बेसींशहर नगरपालिका–२, बगालेगाउँ, गाउँशहरस्थित् नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रुपमा सुरु गरेको तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ।
बिएस्सीएजीसम्मको पढाई सञ्चालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३ सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ। सेवा निवृत्त सैनिक, उनीहरूका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिएको केन्द्रमा पनि इजरायली प्रविधि भित्र्याइने भएको छ।
कार्यक्रममा इजरायलका राजदूत खनान गोडेरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भइ कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको जानकारी दिए।
अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उनले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।