काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गैंडाको खाग तस्करमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
सल्यानको शारदा नगरपालिका–५ का ३१ वर्षीय राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले, काभ्रेको मन्डनदेउपुर नगरपालिका–१० ज्यामिरेका ४८ वर्षीय आशिष लामा भन्ने आइत तामाङ र रसुवाको नौकुण्ड गाउँपालिका–३ का ३६ वर्षीय ज्वाला भन्ने ज्ञानबहादुर रुम्बा पक्राउ परेका छन्।
सिआइबीले धापासीबाट रेउले, सितापाइलबाट तामाङ र रुम्बालाई विभिन्न मितिमा पक्राउ गरेको हो। यो समूहले चितवन राष्ट्रिय निकुन्जका गैंडा मारी खाग तस्करी गरेको सिआइबीका प्रवक्ता गंगा पन्तले बताइन्।
गैंडाको खाग ओसारपसार तथा खरिद बिक्री गर्न प्रयोग गरिएको ना २ च १४५८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई बिहीबार चितवन राष्ट्रिय निकुन्ज पठाइएको पन्तले बताइन्।
पक्राउ परेकाहरू यसभन्दा अघि पनि वन्यजन्तु चोरी शिकारी आरोपमा पक्राउ परेर छुटेका व्यक्ति रहेको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।