काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपासँग सत्ता साझेदारीको कुनै सम्भावना नरहेको बताएका छन्। बिहीबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड, माधवससँग अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र श्रेष्ठसहित भेटेपछि महतोले यस्तो बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन सच्चिएपनि संविधान लेख्दादेखिको प्रतिगमन नसच्चिएको महतोले बताए। ‘देशमा केपी ओलीको एउटा प्रतिगमन सच्चियो। संविधान लेख्दा कांग्रेस-कम्युनिस्टले जुन प्रतिगमत गर्नुभएको थियो त्यो अझै सच्चिएको छैन। त्यो प्रतिगमनका विरुद्ध लड्ने रेशम चौधरी जेलमा छन्। यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ ?’, महतोले भने।’
पहिलो प्रतिगमन यथावत राखेर सहकार्यको सम्भावना नरहेको महतोले जिकिर गरे। ‘पहिलो प्रतिगमन राखेर कसरी सहकार्य हुन्छ ? पहिलेका पनि ठगै हुन्, अहिलेका पनि उस्तै। यस्तो अवस्थामा सम्झौता हुदैन’ महतोले नेपाल लाइभसँग भने, ‘हामीले उठाएका मुद्दा गम्भीर सवालका छन्। त्यसका लागि हामीले संघर्ष गर्नु पर्ने हुन्छ। अरु उपाएका छैन।’
प्रचण्ड–माधवले सबै परिवर्तनकारी शक्ति र लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा हुनु पर्ने भन्दै सत्ता साझेदारीको लागि प्रस्ताव राखेको महताेले बताए। जवाफमा महतोले तपाइँहरुसँग कसरी सहकार्य हुन्छ भन्दै प्रश्न गरेको बताए। ‘हिजोपनि संघर्ष गर्याैं। अहिलेपनि संघर्ष जारी छ। आगामी दिनमा तपाइँहरुसँग संघर्ष गर्ने नै हो’ महतोले छलफलमा रखेकाे कुरा सुनाए, ‘तपाइँहरुले जसको नेतृत्वमा सरकार बनाएपनि हामीहरु लड्ने नै हो। आफ्नो माग पूरा गरेरै छाड्ने हो।’
यसकारण यसअघि सरकारबाट बाहिरिको थियो जसपा
केपी शर्मा ओलीले ३ फागुन २०७४ मा प्रधानमन्त्रीको सपथ खाए लगत्तै २७ फागुनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्ने शर्तसहित सरकारलाई समर्थन गरे। राजपाले सरकारलाई समर्थन मात्रै गरेर बस्यो भने फोरम त्यो भन्दा एक स्टेप अघि बढेर १४ जेठ २०७५ मा २ बुँदे सहमति गरी सरकारमा गयो।
सरकारले संविधान संशोधनको कुनै गुन्जायस नदेखाएपछि फोरमले निरन्तर दबाब दियो। संविधान संशोधनलाई नै दबाब दिन फोरमले २२ पुस २०७५ मा ११ बुँदे स्मरणपत्र समेत बुझायो। स्मरणपत्र बुझाएपनि फोरम सरकारमै बस्यो।
सरकारलाई निरन्तर संविधान संशोधन गर्न खबरदारी गरेपनि प्रक्रिया अघि नबढाएको भन्दै राजपाले २२ फागुन ०७५ मा सरकारलाई दिएको समर्थन फिर्ता लियो। उसले रेशम चौधरीको रिहाईको माग राख्दै संविधान संशोधनसहित पाँच बुदे माग राखी समर्थन फिर्ता लियो।
तर, सरकारमा सहभागी फोरमले संविधान संशोधन गराउन अथक मिहिनेत गरिनै रह्यो। प्रधानमन्त्री ओलीले २०७६ मंसिर ४ गते समाजवादी पार्टीमा कुनै परामर्श नगरी अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुनमा सरुवा गरे भने स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गरिदिए।
त्यही विषयलाई लिएर समाजवादी पार्टीमा तिक्तता बढ्दै गयो। ७ पुस २०७६ मा यादवले संविधान संशोधन गर्ने शर्तसहित विज्ञ समूह गठन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरे। त्यो विषयलाई प्रधानमन्त्री ओलीले इन्कार गरेपछि नैतिकताका आधारमा सरकारबाट समाजवादी बाहिरिएको थियो। संविधान संशोधन गर्ने भन्दै सरकारमा सहभागी मधेश केन्द्रित दल त्यसपछि सत्ताबाहिर छन्।
तर, अबको विकसित राजनीतिक घटनाक्रममा पूर्वमधेशवादी दलको बाहुल्य रहेको प्रतिनिधि सभाको तेस्रो ठूलो दल जसपा कुन रुपमा प्रस्तुत हुन्छ भन्ने केही दिन थाहा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।