काठमाडौं- अस्ट्रेलिया सरकारले गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको कानुन पारित गरेको छ।इन्टरनेटमा प्रविष्ट हुने सामग्री नियमन गर्नुपर्ने आवाज उठिरहँदा अस्ट्रेलियाले मूल्यको नियमन गर्ने प्रयास थालेको हो। फेसबुक र गुगलले भने यो कानुनको विरोध गरिरहेका छन्।
यसअघि फेसबुकले अस्ट्रेलियामा न्यूज फिडमाथि प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिंक सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो।
कानुनमा परिवर्तन गर्ने अस्ट्रेलिया सरकारको भनाइसँगै अघिल्लो साता बिहीबारदेखि लगाइएको प्रतिबन्ध मंगलबार फुकुवा भएको थियो। ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे ‘न्यायोचित संवाद होस्' भन्ने नयाँ कानुनको उद्देश्य रहेको अस्ट्रेलिया सरकारको दाबी छ।
यो प्रकृतिको कानुन विश्वकै पहिलो भएकाले चासोपूर्वक हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।