ओस्लो (नर्वे)- नेपाल पत्रकार महासंघ युरोप शाखाले महासंघ केन्द्रीय महाधिवेशनमा विदेशमा रहने पत्रकारलाई अनलाइनको माध्यमबाट मताधिकार दिन माग गरेको छ। महासंघ युरोप शाखाको चौथो महाधिवेशनका अवसरमा जारी ७ बुँद घोषणापत्रमा अनलाइन मताधिकारको व्यवस्था गर्न माग गरिएको हो।
भर्चुअल माध्यमबाट भएको अधिवेशनमा जारी घोषणपत्रमा पत्रकार महासंघले सबै वैदेशिक शाखाहरूलाई नेपालमा रहेका शाखा सरहकै मान्यता दिनसमेत माग गरेको छ।
युरोप शाखाको अधिवेशन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। मन्त्री गुरुङले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्दै सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन आफू लागिपरेको दाबी गरेका थिए।
युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, डेनमार्कका लागि राजदूत युवनाथ लम्साल र फ्रान्सका लागि राजदूत दीपक अधिकारीले कार्यक्रम सफलताको शुभकामना दिए।
महासंघका उपाध्यक्ष दीलिप थापामगर, केन्द्रीय सचिव लक्ष्मी पुन, केन्द्रीय सदस्य राजेश चाम्लिङ र सिर्जन अर्यालले पनि युरोप शाखाले गरेको गतिविधिको प्रशंसा गरेका थिए। एनआरएनए केन्द्रीय उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, युरोप संयोजक नारायण आचार्य, वरिष्ठ पत्रकार भगिरथ योगी लगायतले पनि शुभकामना व्यक्त गरेका थिए।
महासंघ युरोप शाखाले अधिवेशन गरेपनि नयाँ कार्यसमिति भने चयन गरेको छैन। महासंघ केन्द्रको नियमावलीअनुसार महाधिवेशन भएको ३० दिनपछि नयाँ कार्यसमिति चयन गर्नपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।