काठमाडौं– नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको सम्झना गर्दै उनको नाममा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ।
चैत्र २२ गते ‘प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्न लागिएको संघका प्रदेश संयोजक दीपक गुरुङ्गले जानकारी गराएका छन्।
प्रतियोगितालाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने संयोजक गुरुङ्गले बताए।
झण्डै ९ लाख बजेट लाग्ने अनुमान गरिएको प्रतियोगितामा शीर्ष तीन खेलाडीले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन्। यस्तै चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
म्याराथन काठमाडाैं क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा आएर समापन हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।