सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेसँगै देशमा एकाथरी निरास छन्, अर्काथरी उत्साहित। राजनीतिक चेत भएका कलाकारले पनि यो बिषयमा प्रतिक्रिया दिएका छन्।
सर्वोच्चको फैसलाबारे सामाजिक सञ्जालमार्फत् तीन कलाकारले आफ्ना भाव प्रकट गरेका छन्। जसमा दीपकराज गिरी, भुवन केसी र निर्मल शर्मा रहेका छन्।
दीपकराजले प्रश्नात्मक शैलीमा लेखेका छन्, ‘यो जीत कस्को हो अनि हार कस्को? उनले अझै अगाडी लेखेका छन्, यसरी सोच्ने बुद्धि कसैमा नआओस्। नत्र दल र नेताले जित्लान्, देशले भने हार्नेछ।’
यसैगरी नायक भुवन केसीले लामो स्ट्याटस लेखेका छन्। उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्रै स्थापनना गरेको छैन, हजारौं भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको रक्षा पनि गरेको छ।’
भुवनले अगाडी लेखेका छन्, ‘हामी सबैले संविधानको अक्षरंश पालना गर्नुपर्छ। नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश सर्वेच्च अदालतको फैसलाले दिएको छ।’
कठिन समयमा पनि सहि निर्णय गरेको भन्दै भुवनले न्यायधिसहरुलाई सलाम पनि गरेका छन्। सर्वोच्चको फैसलाले संबैधानिक संकट टरेपनि नेतृत्वमाथिको शंका भने नटरेको उनले बताएका छन्।
यता कलाकार निर्मल शर्माले भने सर्वोच्चको फैसलाले ‘रुनु न हाँस्नु’को दोधार बनाएको बताएका छन्।
प्रतिगमन पराजित भएकोमा खुसी लागेपनि फेरि मिलिजुली देश लुट्लान् भन्ने पिर लागेको उनले बताएका छन्।
यी कलाकार बाहेक अन्य चर्चामा रहेका कलाकार भने सर्वोच्चको फैसलामा मौन छन्।
राजनीतिक बिषयमा चासो राख्ने नायिकाहरु रेखा थापा, करिस्मा मानन्ध, निशा अधिकारी लगायतका कलाकारले यसबारे केही प्रतिक्रिया दिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।