काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११ः१८ मिनेट जाँदा एकाएक परिसूचक २५८८.४० बाट घटेर २५०५.८६ अंकमा पुग्यो। सबै समूहको उपसूचक हरियो देखिए पनि अन्य समूहको उपसूचकमा एकाएक ठूलो अंकको गिरावट देखियो।
त्यसको मुख्य कारण थियो करिब सवा खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य एकाएक शून्यमा झर्नु।
नेप्सेका अनुसार निफ्राको सेयर बिक्रीकर्ताको अत्याधिक चापका कारण प्राविधिक समस्या सिर्जना भएको थियो। ‘प्राविधिक समस्या देखिएपछि अहिले निफ्राको सेयर कारोबार रोक्का गरिएको छ। अरु कम्पनीको कारोबार भने सामान्य ढंगले भइरहेको छ,’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, ‘नेप्सेको वेबसाइटमा देखिएको तथ्यांक वास्तविक नहुन पनि सक्छ। हामीले प्राविधिक समस्या समाधानका लागि प्रयास गरिरहेका छौं।’
‘निफ्राको शेयर बिक्री गर्नेको अत्याधिक चाप देखिएपछि नेप्सेका वेभसाइटमा पनि समस्या देखिएको हो’, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले भने।
खरिदकर्ताकै चाप देखिएका बेला एकाएक नेप्से परिसूचक घटेर ‘नेगेटिभ सर्किट’को अवस्थामा पुगेपछि लगानीकर्ता आत्तिएका थिए। फागुन २ गतेबाट कारोबार सुरु भएको ७ दिनसम्म लगातार पोजेटिभ सर्किट लागेको निफ्राको सेयर मंगलबार भने नेगेटिभ सर्किट लागेर बन्द भएको थियो।
आज बुधबार प्रिओपनिङमा निफ्राको सेयर प्रतिकित्ता ५९६ रुपैयाँबाट बढेर ६२३ रुपैयाँसम्म पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।