काठमाडौं- नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्ने बताएकी छिन्।
'उहाँहरुलाई एकछिन पनि त्यो कुर्सीमा बस्न सुहाउँदैन', नेपाल लाइभसँग कुरा गर्दै शाक्यले भनिन्, 'उहाँहरुलाई त्यो पदमा बस्न नैतिकताले दिँदैन। किनकि, उहाँहरु दुवै जना मिलेर प्रतिनिधि सभा विघटन गरेका थिए। तर त्यो बदर भएको छ। त्यसैले उहाँहरुले राजीनामा दिनुपर्छ।'
उनले प्रतिगमनका विरुद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद दिइन्।
अदालतप्रति जनताको जुन विश्वास थियो, त्यो विश्वास कायमै भएको उनले बताइन्। यसले लोकतन्त्रलाई बलियो बनाउने काम गर्ने उनको भनाइ छ। 'जनताको शक्तिको अगाडि कुनै पनि तानाशाहको निर्णय टिक्दैन', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।