काठमाडौं- नेपाल भलिबल संघलाई खेल सामाग्री उत्पादन संस्था केल्मीले प्रायोजन गर्ने भएको छ। सोमबार काठमाडौंमा नेपाल भलिबल संघ र केल्मीबीच सम्झौता भएको हो।
नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपालका लागि आधिकारिक बिक्रेता केल्मी नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे। २ वर्षका लागि भएको सम्झौताअनुसार केल्मीले पहिलो वर्ष महिला र पुरुष नेपाली राष्ट्रिय भलिबल टिमलाई २०-२० सेट ट्राकसुट, नी-प्याड, अफिसियल जर्सी, मोजा, जुत्ता, २५० थान भलिबल, नेट र ट्रेनिङ जर्सी प्रदान गर्नेछ।
सम्झौतापछि बोल्दै डाइरेक्टर न्यौपानेले नेपालको राष्ट्रिय खेल भलिबललाई केल्मीले अग्रभागमा राखेर अगाडि बढेको बताए।
‘पहिलो पटक २ वर्षको लागि सम्झौता गरेका छौं। नेपाली टोलीको आफ्नै लोगो र पहिचानको जर्सी आई पुग्न समय लागेका कारण अहिले नै मूल्य तोक्न सकेका छैनौं। खेलाडीहरुको भविष्य सुनिश्चित गर्नु संघको दायित्व हो। टिम प्रशिक्षणलाई निरन्तरता प्रदान गरेमा मात्र नतिजा प्राप्त हुनेछ,’ उनले भने।
यस्तै, अध्यक्ष शर्माले भलिबल संघ र केल्मीबीच सम्झौता मूल्यमा नभई अमूल्य रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।