काठमाडाैं- म्यान्मारको दोस्रो ठूलो शहर माण्डलेमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा सहभागी भएकामाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएपछि हजारौंको संख्यामा प्रदर्शनकारीहरु सडकमा फर्केका छन्।
शनिबार प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा ३६ वर्षका पुरुष र १८ वर्षमुनिका अर्का एक किशोरको मृत्यु भएको थियो।
जुलुसले म्यानमारका सैन्य शासकहरूको अन्तर्राष्ट्रिय निन्दा बढेपछि आइतवार फेसबुकले सेनाको मुख्य पेजहरुलाई बन्द गराएको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबारको हिंसालाई ‘घातक हिंसा’ भनि निन्दा गरेका छन्। यस हिंसामा परी ३० भन्दा बढी जना घाइते भएका छन्।
गत शुक्रबार पनि एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। ९ फेब्रुअरीमा टाउकोमा प्रहरीको गोली लागेकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो।
म्यान्मारमा पछिल्लो दुई हप्तादेखि जुन्ता सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ।

प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि उत्रिएका छन्। दबाबमा आएको सैनिक नेतृत्वले पछिल्ला दिनमा प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।