काठमाडौं- दक्षिण भारतीय फिल्म अर्जुन रेड्डीको नेपाली रिमेकका लागि कलाकारको खोजी सुरु भएको छ। निर्माण तथा वितरणको अनुमति लिएको युवा फिल्म्सले चलचित्रका लागि कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ।
फिल्म विशाल सापकोटाले निर्देशन गर्ने भएका छन्। करिब एक वर्षअघि नै निर्माणका लागि घोषणा भएपनि कोभिड-१९ का कारण यसको निर्माण पछि सरेको हो।
फिल्ममा मुख्य कलाकारमा नायक, नायिका र अन्य कलाकारको पनि अडिसन हुनेछ।
दक्षिण भारतीय स्टार विजय देवरकोन्डाले अभिनय गरेको फिल्मलाई हिन्दी रिमेकमा कबिर सिंह नामबाट रिमेक गरिएको थियो। कबिर सिंहले गएको वर्ष बलिउडमा राम्रो व्यापार गरेको थियो।
अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सका तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मसका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ। दक्षिण भारतीय चलचित्रको अधिकार लिएर निर्माण गर्न लागिएको यो पहिलो फिल्म बन्न लागेको छ।
फिल्मको नेपाली रिमेकका लागि ईच्छुकले युवा फिल्मस्को इमेल ठेगाना ([email protected])मा सम्पर्क गर्न सक्ने निर्माण पक्षले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।