राेयटर्स
अमेरिकाको डेन्भरबाट उडेको युनाइटेड एयरलाइन्सको विमानमा ठूलो दुर्घटनाबाट बचेको छ। उड्नासाथ एउटा इन्जिनमा आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन्।
विमानका पाइलटले ‘विमानको इन्जिनमा आगो लागेकाले तत्कालै फर्कन अनुमति पाऔं’ भन्दै टावरसँग सम्पर्क गरेका थिए। चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए।
विमानभित्रका यात्रुले खिचेको तस्बिर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो। आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको थियो।

‘हामीले ठूलो विस्फोट सुनेका थियौं। आकाशमा कालो धुवाँ रहेको थियो,’ कियन केनले भने,‘यस्तो देखिएको थियो कि विमानकाे भाग तल तैरिरहेको थियो र धेरै भारी थिएन।’
विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए। विमानमा सवार वा जमिनका कुनैपनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन्।
विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य थिए। विमानमा सवार यात्रु डेभिड डेलुसियाले डेन्भर पोस्टलाई प्रतिक्रिया दिँदै आफूहरुलाई एक पटक बाँच्छु भनेर आशा नै मारिसकेकाे बताएका छन्।
युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दैै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानमा इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ।
तस्बिरहरु: BROOMFIELD PD/REUTERS
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।