काठमाडौं– करातेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएनआइपिए स्पोर्ट्स अवार्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गरेको एनएनआइपिए अवार्डमा मन्देकाजी र गौरिका सर्वोत्कृष्ट चुनिएका हुन् ।
वर्षका उत्कृष्ट २६ खेलाडीबाट महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान् र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरिएको थियो । सर्वोत्कष्ट घोषित भएका मन्देकाजी र गौरिकाले जनही १–१ लाख रुपैयाँ पाए । सागमा करातेका मन्देकाजीले दुई स्वर्ण जितेका थिए भने गौरिकाले पौडीमा ४ स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी थिइन् ।
त्यस्तै, सागमा दुई स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्य र सागको स्वर्ण पदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित भए । आयशा र सुजलले जनही ५०–५० हजार पाए । राइजिङ प्लेयर अफ दि इयरको अवार्ड भने गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामीले पाए । सुवासले सागमा दुई स्वर्ण जितेका थिए भने कुस्तीमा संगिताले स्वर्ण जितेकी थिइन् । सुवास र संगीता दुवैले समान ५०–५० हजार पुरस्कार पाए ।
त्यस्तै, अघिल्लो वर्षभर प्रदर्शन गरेको आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआइपिए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिएको छ । वर्षका उत्कृष्ट खेलाडी हुनेले १० हजार पुरस्कार पाए ।
एनएनआइपिए स्पोर्टस् अवार्डमा वर्षका उत्कृष्ट खेलाडीमा पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठसँगै फुटबलका सुजल श्रेष्ठ, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य, भलिबलका कुलबहादुर थापा, गल्फका सुवास तामाङ, करातेकी आयशा शाक्य, सुटिङकी कल्पना परियार, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, भारोत्तोलनका विकास थापा छन् । त्यस्तै, लन टेनिसका प्रदीप खड्का, फेन्सिङकी रविना थापा, ह्यान्डबलकी कल्पना ओली, स्क्वासकी विपना ब्लोन, क्रिकेटकी अञ्जली चन्द, ट्राइथोलनकी सोनी तामाङ, बक्सिङकी मिनु गुरुङ, खो खोका श्याम बुढाथोकी, ब्याडमिन्टनका रत्नजित तामाङ, जुडोकी देविका खड्का, उसुकी जुनी राई, कुस्तीकी संगीता धामी, आर्चरीका सनातन मल्ल, बास्केटबलकी अनुशा मल्ल, कबड्डीकी मेनुका कुमारी राजभण्डारी र साइक्लिङका बुद्धिबहादुर तामाङ चुनिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।