नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव ‘निफ’मा ३१ देशका ६३ चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको निफको चौथो संस्करणका लागि विभिन्न ५२ देशका ४५० चलचित्र मध्येबाट चलचित्र छनोट गरिएकोे आयोजकले जनाएको छ ।
फागुन १२ देखि १६ गतेसम्म’ काठमाडौंमा प्रतियोगिता गर्ने तयारीसहित विश्वभरका फिल्मकर्मीलाई सहभागिताका लागि आह्वान गरेकोमा विविध कारणले २०७८ वैशाख २३ मा सारिएको आयोजकले बताएको छ ।
आयोजकको आन्तरिक छनौट समितिले दिएको नम्बरका आधारमा उच्च नम्बर पाउने चलचित्रमध्ये ३१ देशका ६३ चलचित्र प्रतिस्पर्धाको लागि छनोट गरिएको बताइएको छ ।
केही उत्कृष्ट र विषय प्रधान चलचित्र प्राप्त भएमा अप्रतियोगी हुने गरी प्रदर्शन गर्न सकिने आयोजकले जनाएको छ ।
‘विश्वका कथाहरुको कथ्य उत्सव’ नाराका साथ सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड दिइने पनि आयोजकले जनाएको छ । यो क्याटगोरीका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् ।
त्यसैगरी, सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड यथावत रुपमा प्रदान गरिनेछ ।
त्यसैगरी, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० रुपैयाँ प्रदान गरिने आयोजकको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।