काठमाडौं- सरकारले नेपाल बैंकमा आफ्नो भूमिका बढाएको छ। अर्थ मन्त्रालयले नेपाल बैंकको रिक्त सञ्चालक समितिमा महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई मनोनयन गर्दै अध्यक्ष बनाउने तयारी गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार बस्ने बैठकले मरासिनीलाई अध्यक्ष बनाउने तयारी छ। सञ्चालक समितिका तत्कालीन अध्यक्ष वासुदेव अधिकारीले अर्थ मन्त्रालयसँगको विवादमा पदबाट राजीनामा दिएपछि नेपाल बैंकको सञ्चालक समिति नेतृत्वविहीन छ।
अधिकारीले आफूले साधारणसभाबाट पारित गराएको लाभांश अर्थ मन्त्रालयले घटाइदिएको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। उनले राजीनामा दिएसँगै रिक्त स्थानमा मरासिनीलाई पठाउने निर्णय अर्थ मन्त्रालयले गरेको हो।
सरकारको सचिव नै सञ्चालक समितिमा जाने भएपछि उनी नै अध्यक्ष हुनेछन्। सरकारको आन्तरिक लेखा प्रणाली नियन्त्रण र लेखापरीक्षणको सर्वोच्च निकाय महालेखा नियन्त्रकले नै बैंकको नेतृत्व गर्नेछन्।
मरासिनीसँगै बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरू पनि छन्। अर्थ मन्त्रालयले बैंकमा लफडा बढेपछि आफ्नै प्रतिनिधिलाई नेतृत्व गर्न लगाउन खोजेको हो।
यो पनि:
अर्थ मन्त्रालयले लाभांश घटाइदिएपछि नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजीनामा
नेपाल बैंकका अध्यक्ष अधिकारीले दिएको राजीनामा स्वीकृत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।