काठमाडौं- प्रदेश २ को प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई किन हटाइयो भन्ने केही थाहा नभएको प्रतिक्रिया दिएका छन्।
उनले आफूले पदीय दायित्व पूरा गर्ने क्रममा कहीँकतै गलत काम नगरेकाे, कसैको पक्षपोषण नगरेको बताएका छन्। प्रदेश प्रमुखबाट हटाउने विषयमा आफूलाई पूर्वजानकारी समेत नदिइएको उनले बताए।
‘किन हटायो, केका लागि हटायो मलाई केही थाहा छैन। मलाई कुनै वार्निङ पनि दियाथिएन, तिम्ले यो मिस्टेक गर्यौ भनेर’, परियारले नेपाल लाइभसँग भने, ‘हटाउँदैछौं भनेर पनि कुनै जानकारी दिया थिएन।’ सरकारले हटाएका विषयमा आफूले अहिले कुनै टिप्पणी नगर्ने उनले बताए।
बाँके निवासी परियार पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका थिए। प्रतिनिधि सभा विघटनपछि सत्तारूढ नेकपा राजनीतिक रुपमा विभाजित छ। तर, परियारले आफूले कुनै पक्षको पक्षपोषण र विरोधमा नलागेको बताएका छन्।
‘म कुनै पक्षमा खुलेको पनि छैन। भाषण गर्न हिँडेको पनि छैन। कुनै अभिव्यक्ति दिएको पनि छैन। मेरो पदीय दायित्वले सबै पार्टी समान हुन् भन्छ’, उनले भने।
अब फेरि सक्रिय राजनीतिमा फर्किनहुन्छ ? भन्ने प्रश्नमा उनले यसमा विषयमा केही नसोचेको बताए। ‘पार्टीबाट हटेर प्रदेश प्रमुख बनेको हो। प्रदेश प्रमुखको अवधि पूरा नगरेर बिचमै विदा गरिदिएपछि त अब सोच्नुपर्छ के गर्ने भनेर’, उनले थपे।
मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेर उनको ठाउँमा रौतहटका राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।