काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न ५९५ जना कैदीबन्दीको कैद सजाय माफी दिएकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ। लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन )ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो।
यस्तै राष्ट्रपतिले कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका सुदीप लिम्बूसमेत १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिएको छ। सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो।
यसैगरी सुरेन्द्र भनिने सालिन्द्र यादवसमेतका १५ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।