२००४ साल वैशाख १७ गते पहिलोपल्ट राणा शासनविरुद्ध काठमाडौंमा जुलुस निकाल्ने तय भयो। तीन दिन अघिदेखि नै जुलुसको तयारी गोप्य रुपमा भइरहेको थियो। जुलुसको तयारीका लागि छानियो दिवाकर भाजुको घर। राणाका सुराकीको डर थियो। त्यसैले सूचना नचुहियोस् भनेरै भाजुको घरका साना कोठाभित्र सबै झ्यालमा पर्दा लगाइयो। अनि प्ले कार्ड बोकेर ओहोरदोहोर गर्दै जुलुसको पूर्वतयारी थालनी भयो।
त्यही पूर्वतयारीमा सहभागी थिइन् शान्ता श्रेष्ठ। त्यतिबेला उनी १४ वर्षकी थिइन्।
काठमाडौंको त्यो पहिलो जुलुस
अहिले ८८ वसन्त टेकेकी श्रेष्ठसँग त्यो कलिलो उमेरमा राणा शासनविरुद्ध मुठ्ठी उज्याएका सम्झना छन्। पूर्वतयारीमा सामेल भएकी श्रेष्ठले झन्डै जुलुसमा जानै छुटाएकी थिइन्। त्यसो हुँदो हो त उनीसँग आज गर्व गर्ने जीवनको एउटा महत्वपूर्ण पाटो नै हुने थिएन। ‘वैशाख १७ गते बिहान ११ बजे जुलुसमा आइपुग्नु भनिएको थियो। मैले त भुसुक्कै बिर्सिएछु । हाम्रै टोलबाट जुलुस आएपछि हत्त न पत्त त्यसमा मिसिन गएँ,’ शान्ताले त्यो दिन सम्झिइन्।
जुलुसको माग थियो– राजनीतिक बन्दीको रिहाइ। काठमाडौंमा त्यो पहिलो जुलुस थियो। त्यसैले के–के न आयो भनेर मान्छेको भागाभाग भयो।
‘हातमा प्ले कार्ड समातेका हामी साना बच्चीहरू थियौं। मसँगै कणकलता पनि हुनुहुन्थ्यो। जुलुस असनको अन्नपूर्ण मन्दिर अगाडि पुगेपछि अर्को रमाइलो भयो। त्यहाँ व्यापारीहरू चामल बेचिरहेका थिए। त्यतिबेला एक रुपैयाँमा सात माना चामल आउँथ्यो। जुलुसमा भनिरहेका थिए– जिन्दावाद। चामल व्यापारीले ‘झिम्ना भा’ सुनेछन्।’ नेवार समुदायका व्यापारीको बुझाइ थियो– सात मानको १० माना भन्दै आए। त्यसपछि त व्यापारीको पनि भागाभाग।
जुलुस अगाडि बढिरहेको थियो। कमलादी पुग्दा लाठ्ठी चार्ज सुरु भयो। श्रेष्ठलाई उनका बुवाले हुलदंगाबाट निकाले। जुलुसमा सहभागीहरू घाइते हुन थाले। बुबाले उनलाई घर लिएर गए। नानीमैयाँ श्रेष्ठ उनीहरूको गुरुआमा थिइन्। नानीमैयाँलाई पनि उनका बुवाले घर लगेर गए।
त्यो जुलुसबाट सहाना प्रधान, साधना प्रधान, स्नेहलता, कणकलतासहित करिब ३७ जना समातिए। समातिनेमा पुष्पलाल श्रेष्ठ पनि थिए। त्यसअघि नै वीपी कोइरालालाई पक्रेर ल्याइएको थियो। त्यसपछिका हरेक जुलुसमा श्रेष्ठलाई बोलाउन थालियो। राजनीतिक संघर्ष अझ पेचिलो बन्दै गयो। त्यसपछिका प्रायःजसो जुलुसमा उनी गयल भइनन्।
राणाविरोधी बनाउने घटना
राणा शासनमा भूगोल, नागरिक शास्त्रलगायत केही विषय पढ्न अनुमति थिएन। श्रेष्ठ विद्यालय जाँदा हनुमानढोका हुँदै जानुपथ्र्याे। सेना कालभैरव नजिकै बसेका हुन्थे। विद्यालय जाने सबै विद्यार्थीका झोला सेनाले चेक गथ्र्यो। चार/पाँच जना पनि सँगै बस्न प्रतिबन्ध थियो। यस्ता गतिविधिबाट आजित आमजनमा राणाविरोधी भाव उत्पन्न हुनु स्वाभाविक थियो। त्यसबाहेक श्रेष्ठसँग अन्य घटना पनि जेडिएका थिए जसले उनमा राणा शासनविरुद्ध अझ धेरै वितृष्णा जगायो।
उनका मामालाई १९९० सालमै राणाले पक्रेका थिए। मामाले १६ वर्षसम्म जेल बस्ने गरी त्यस्तो गल्ती पनि गरेका थिएनन्। श्रेष्ठलाई त्यसबेला कुन शासन राम्रो भन्ने थाहा थिएन, तर राणा शासन गलत हो भन्नेमा उनी पक्का थिइन्।
जुद्धशमसेरले ९० सालमा सेनाको ‘कमाण्डर इन चिफ’ रुद्रशमसेरलाई काठमाडौं आउन नपाउने गरी पाल्पा पठाए। रुद्र शमसेरका खरिदार थिए, शान्ताका मामा। जुद्धशमसेरलाई मामाले विन्ती पत्र लेखे, ‘मेरो मालिक जहाँ जानुभएको छ, त्यहीँ जान पाउँ।’ त्यही निहुँमा मामालाई हतकडी र नेल ठोकेर जेलमा हालियो। राणा शासकले माफी माग्न लगाए। तर, उनका मामाले माफी मागेनन्। पछि २००७ सालको आममाफीमा श्रेष्ठका मामा पनि छुटे।
६/७ वर्षको उमेरदेखि आमाको हात समाउँदै जेलमा भेट्न जाँदा मामालाई यातना दिइरहेको दृष्य श्रेष्ठको आँखामा पथ्र्यो। हप्तामा दुई पटक भेट्न दिइन्थ्यो।
मामालाई सोध्थिन् उनी, ‘मामा बाहिर कहिले आउनुहुन्छ? तपाईंलाई किन कुटेको?’
मामाको उत्तर हुन्थ्यो, ‘तिमीहरूले पढेर जुलुस निकालेर राणा सरकारको विरोधमा नलागेसम्म म छुट्दिनँ।’ मामाको जवाफ शान्ताको कलिलो मनमा यसरी गढ्यो कि पढेपछि जुलुस निकाल्ने भन्नेतर्फ सोच्न थालिन्। आफ्नै आँखा अगाडि मामालाई दिइएको यातनाले उनलाई राणाविरुद्ध संघर्ष गर्न कटिबद्ध बनायो। उनका बुवा र आमा पनि राणालाई पटक्कै रुचाउदैनथे।
महिलाको पहिलो संगठन
२००४ साल वैशाख १७ को घटनापछि मात्र महिलाहरूको संगठित समूहको आवश्यकता महशुस भयो। सायद, नेपालमा राणाशासनको अन्त्यका लागि संघ/संगठन चाहिने रहेछ भन्ने धेरैलाई महसुस भएको हुनुपर्छ। संस्कृति र परम्परा जोगाउन पुस्तौंदेखि गुठी संस्थानमा जोडिँदै आएको नेवार समुदायलाई त अझ यसको महत्व खड्कियो।
धेरै मानिसलाई एकै स्थानमा जम्मा हुने अनुमति नभएको समयमा संघ/संगठन खोल्नु चुनौतीपूर्ण थियो नै। तर, चुनौतीभित्र विकल्प खोज्ने क्रममा बनभोज सबभन्दा उपयुक्त उपाय सुझ्यो।
म्हैंपी मन्दिरमा महिलाहरू बनभोज खाने बहानामा जम्मा भए, २००४ साल साउन २२ गते। तर, संघलाई मूर्त रुप दिन झण्डै चार महिना लाग्यो र, २००४ सालको अन्त्यतिर महिला संघ गठन भयो।
संघको अध्यक्ष भइन्, मंगलादेवी सिंह। ७ सदस्यीय कार्यसमितिमा १४ वर्षको उमेर भएकाले श्रेष्ठ बस्न पाइनन्। तर, उमेर बढाएर १५ वर्ष बनाएपछि उनी साधारण सदस्य बनिन्। महिला संघ राजनीतिक आस्था र विचारका आधारमा नभइ सबैलाई समेट्नेगरी गठन भएको श्रेष्ठ बताउँछिन् ।
तर, २०१७ सालमा राजा महेन्द्रको ‘कू’बाट महिला संघ पनि अलग रहन सकेन। त्यो पनि खारेज भयो।
२०४६ सालमा बहुदल आएपछि मंगलादेवी सिंहले पुन महिला संघ गठन गर्ने बताइन् । सिंहलाई श्रेष्ठले २००४ सालको संघमा बस्नेहरू पनि जीवितै भएकाले उनीहरूलाई पनि आवद्ध गराउनुपर्ने सुझाव दिइन्।
‘मंगला दिदी, पहिलेको दिदीहरू जीवितै हुनुहुन्छ, उहाँहरूलाई बोलाउनुस् भनें। तर, मंगला दिदीले काम गर्न नसक्नेलाई किन बोलाउने? बरु उहाँहरूलाई अपिल गर्ने भन्नुभयो,’ श्रेष्ठले भनिन्। शान्तालाई यो चित्त बुझिरहेको थिएन। उनले थपिन्, ‘अपिल गर्ने शब्द सुन्ने बित्तिकै मलाई रिस उठ्यो। तपाईंलाई अपिलको अर्थ थाहा छ? भनेर सोधें। आफ्नै संस्थाका पुराना सदस्यलाई अपिल गर्ने अदालती शब्द कहाँबाट प्रयोग गर्नुभएको? यसरी संघ गठन हुँदैन भन्दै म बाहिर निस्किएँ।’ तर, संघ गठन भयो। पछि त्यही महिला संघ नेपाली कांग्रेसको भातृ संस्था भयो। स्वतन्त्र महिला संघ कुनै एक पार्टीको भातृ संगठन भएको श्रेष्ठलाई चित्त बुझेन। यहीकारण मंगलादेवीसँग उनको सम्बन्ध बिग्रियो।
टाउको फुटेको त्यो आन्दोलन
मोहन समशेरले संयुक्त सरकार बनाउनुअघि २००७ साल कात्तिक २२ गते राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिए। तीन वर्षका ज्ञानेन्द्र शाहलाई राजा बनाइयो। तीन वर्षका ज्ञानेन्द्रलाई राजा नमान्नेमा ठूलो संघर्ष भयो। दिनदिनै विरोधका कार्यक्रम भइरहे।
केही दिनपछि नेपाली नागरिकको धारणा र आन्दोलनको स्थिति बुझ्न ब्रिटिश मिसनले आफ्ना प्रतिनिधि नेपाल पठाउने भयो। ती प्रतिनिधिलाई नेपालमा राणाविरोधी आन्दोलन उग्र भएको देखाउनु थियो। उनीहरू १ बजे गौचरण विमानस्थल आउने सूचना काठमाडौंमा फैलिसकेको थियो। त्यतिबेलासम्म पाँगा, ठिमी, भक्तपुरलगायत विभिन्न ठाउँबाट हजारौंको संख्यामा आन्दोलनकारीहरूको भीड जम्मा भयो।
त्यतिबेलाको नारा थियो, ‘वी वान्ट डेमाक्रेसी, डाउन द रानाइज्म, वी वान्ट किङ त्रिभुवन।’
त्यो आइतबारको दिन थियो। बिहानै सर्कुलर भइसकेको थियो, ब्रिटिश मिसन प्रतिनिधिको आगमनबारे। श्रेष्ठ गौचरणसम्म साथीहरूसँग हिँडेरै पुगिन्। त्यतिबेला श्रेष्ठ सुरुवाल लगाउँथिन्। उनकी साथी प्रभाले फरिया लगाएकी थिइन्।
गौचरण विमानस्थलमै रुखको फेदमा जयवीर सिंह (त्रिपुरवर सिंह, पूर्वमन्त्रीका भाइ) र कृषि विभागका निर्देशक जानकी प्रधान केही लेख्दै बसिरहेका थिए। श्रेष्ठलाई उनीहरूले त्यहाँ बोलाए। र, भने, ‘किन यहाँ आएको? आज यहाँ ठूलो काण्ड हुन्छ, मान्छे मार्छन्, गोली चल्छ, फर्केर जाउ।’ श्रेष्ठको अड्डी थियो,
‘हामी त हेर्न आएको। हेरेर मात्र जाने।’
उनीहरूले लगत्तै सोधे– ‘एउटा काम गर्छौ त?’
शान्ताको जवाफ थियो– ‘के काम ? भनेपछि गर्छु।’
उनीहरूले केहीबेरमा हवाइजहाज आउँने र त्यसबाट ओर्लने व्यक्तिको हातमा राजा त्रिभुवनको फोटो र चिठ्ठी दिनुपर्ने बताए।
शान्ताले लगत्तै भनिन्, ‘त्यति त दिइहाल्छु नि। कुन ठूलो कुरा हो र?’ आन्दोलनको स्वरुप त्यति भयानक होला भन्ने श्रेष्ठले कल्पना पनि गरेकी थिइनन्।
‘ओढ्नेलाई पटुका बनाएँ। अनि छातीमा पत्र र फोटो राखें। हवाइजहाज अवतरण हुनुअघि नै जुलुसमा लाठी चार्ज सुरु भयो। भीडका कारण जहाज ल्याण्ड गर्न नसकेर चार/पाँच पटक राउन्ड लगायो,’ उनले सम्झिइन्, ‘जहाजबाट ब्रिटिश प्रतिनिधिलाई जनताले घरेर ओर्लनै दिएनन्। फेरि आन्दोलनकारीमाथि लाठी चार्ज सुरु भयो। ती प्रतिनिधिलाई लिन सेतो कार आएको थियो। निकै संघर्षपछि उनीहरू कारमा बसे। क–कसले बोकेर मलाई कारको टपमा राखे। मसँगै अन्य २/३ जनालाई पनि त्यहीँ राखिदिए।’
त्यही कारमाथि बसेर उनले ‘वी वान्ट’ भन्ने, अरुले ‘डेमोक्रेसी’ भनेर नारा लगाउन थाले। राणा शासनविरुद्धको नाराबाजी रोकिएन। सबै जुलुसको नेतृत्व आफूले गरेको बताउँछिन् उनी। सम्झिइन्, ‘भयानक लाठी चार्ज भयो। मेरो टाउकोमा नराम्रोसँग चोट लाग्यो। र, ती ब्रिटिश प्रतिनिधिले नै बोकेर मलाई तल ओराले। उनीहरूको हात र शरिरमा पनि रगत मात्र लाग्यो। मैले त्यो पत्र र फोटो दिएँ। उनीहरूले मलाई मोटरभित्र राख्न खोजे।’
बाहिरबाट आन्दोलनकारीले के गर्ने हुन् भन्ने सोचेर होला, पछि ब्रिटिश प्रतिनिधिहरूले भने, ‘तिमीहरूको माग पूरा गर्छौं। पीर लिनु पर्दैन।’ लगत्तै आन्दोलनकारीको भीडले फेरि उनीहरूकै समर्थनमा जिन्दावादको नारा लगाए। आन्दोलनमा चार/पाँच सय नै घाइते भए।
गौचरणबाट श्रेष्ठलगायत केही आन्दोलनकारी भक्तपुरको सल्लाघारीमा गएर लुके। ‘लाठी चार्जबाट बेहोस नै भएछु। लहरीमा भक्तपुरतर्फ जाँदै गर्दा होसमा आएँ। रात परेसँगै सल्लाघारीमा लुकेकाहरू घर फर्कन थाले। म हिँड्न सक्ने अवस्थामा थिइनँ। आन्दोलनकारीले नै मलाई सल्लाघारीबाट बोकेर घर पुर्याए,’ उनको स्मृतिमा छ, ‘फेरि म विरुद्ध वारेन्ट जारी भयो त्यही आन्दोलनको मेरो फोटो भारतीय अखबारमा पनि छापिएछ। केही समयपछि त्रिभुवन पनि नेपाल फर्किए।’
संघर्षले पढाइमा अवरोध
माधवराज जोशीकी छोरी शुक्रराज शास्त्रीकी बहिनी थिइन्, चन्द्रकान्ता जोशी मल्ल। चन्द्रकान्ताले भारतमै बसेर पढिन्। १६ वर्षको उमेरमा उनी नेपाल आइन्। काठमाडौंमा विद्यालय खोल्न राणाको अनुमति लिनुपथ्र्यो। त्यसकै लागि चन्द्रकान्ताले चन्द्रशमशेरलाई विद्यालय खोल्न अनुमतिका लागि पत्र लेखिन्। चन्द्रशमशेरको शासनकाल सकिएर भीमशमशेर आए, तर उनले विद्यालय खोल्ने अनुमति दिएनन्।
त्यसपछि जुद्धशमशेर आए। जुद्धशमशेरले पनि अनुमति दिन चाहेका थिएनन्। तर, सेनाका कमाण्डर इन चिफ रुद्रशमशेरको सहयोगमा चन्द्रकान्ताले वि.सं. १९८६ सालमा काठमाडौंको मखन टोलमा कन्या पाठशाला खोलिन्।
त्यस आसपासमा दिवाकर भाजु र चित्ररञ्जन नेपालीले खोलेको विद्यालय पनि थियो, श्रेष्ठले त्यहीँबाट सावाँ अक्षर चिन्न थालिन्। पछि त्यस आसपासका तीनवटै विद्यालय मर्ज गरेर २००२ सालमा स्थापना गरियो, शान्ति निकुञ्ज। पछि श्रेष्ठ पनि त्यहीँ पढ्न थालिन्।
त्यहाँ पढ्ने विद्यार्थी र पढाउने सबै शिक्षक राणा विरोधी थिए। २००७ सालमा श्रेष्ठ लखनउमा पढ्दै थिइन्। उनीसँगै सहाना प्रधान र प्रभा नेपाली पनि थिए। १५ दिनको बिदामा उनीहरू नेपाल आए। त्यही बिदाकै बीच आन्दोलनको कार्यक्रम बन्यो।
भूगोल पार्कमा महिला संघ २००४, विद्यार्थी फेडेरेसन र नेपाल किसान संगठनले संयुक्त आन्दालेनको रुपरेखा तय गरे। कफ्र्यू पनि जारी थियो। सहाना र प्रभामध्ये एकजनाले महिला संघको झण्डा समाउने, अर्को एकजनाले भाषण गर्ने पूर्वतयारी भयो।
तर, कार्यक्रम सुरु नहुँदै उनीहरूमाथि पानीको फोहोरा बर्साइयो। लगाएका कपडा नै धुजा धुजा भए। धेरै घाइते पनि भए। करिब ४ सयको हाराहारीमा पक्राउ परे। पक्राउ पर्नेमा महिलाको संख्या ३५/४० को हाराहारीमा थियो। पक्राउ परेकामध्ये अन्यलाई छाडेर १५/२० जना जतिलाई थुनियो। त्यसपछि श्रेष्ठ एक हप्तामा छुटिन्। उनी २००७ सालसम्म तीन पटक ‘वारेन्ट’मा परिसकेकी थिइन्।
राजनीतिक संघर्षकै बीच उनको पढाइ आठ वर्ष अस्तव्यस्त बन्यो। लखनउमा उनीहरू आवासीय विद्यार्थी थिए। एक महिनापछि लखनउ पुगे। सामान जति एउटै कोठामा राखिएको थियो। स्कुलले उनीहरूको नाम नै काटिदियो। प्राइभेट एसएलसी दिनुपर्ने भयो। श्रेष्ठले इलाहवादबाट एसएलसी दिइन्।
एसएलसीपछि उनी पद्मकन्या क्याम्पसमा पढ्न थालिन्। पद्मकन्या क्याम्पसको बागबजारमा भवन बनेको थिएन। डिल्लीबजारकै पद्मकन्या स्कुलमा पहिले क्याम्पस थियो।
लक्ष्मीप्रसाद देवकोटा, रामबहादुर रावललगायतले त्यहीँ पढाउँथे। आइकमको दुईवटा टर्मिनल परिक्षा सकिएको थियो। एउटा बाँकी थियो। भारतको छपरा भन्ने गाउँकी कमला सिन्हालाई क्याम्पसको प्रिन्सिपल बनाइएको थियो। अंगुरबाबा जोशी, जुनु प्रधान र शारदा शर्माले एमए सकिसकेका थिए।
श्रेष्ठलगायतले कुरा उठाए– ‘भारतीय नागरिकलाई हामी प्रिन्सिपल मान्दैनौं। यिनै तीन जना महिलामध्येबाट एक जनालाई प्रिन्सिपल बनाउनुपर्यो।’ संघर्षले ठूलो रुप लियो। जुलुस निकाल्नेदेखि अनेक विरोधका कार्यक्रम बने। जुलुस नारायणहिटीको गेटसम्म पुग्यो। राजा महेन्द्रले ६ जनालाई कुरा गर्न दरबार बोलाए।
‘प्रिन्सिललाई ल्याउँदा पाँच वर्षका लागि भनेर सहमति भएको हो। अढाई वर्ष सकियो। अब अढाई वर्ष तिमीहरूले कुर्नैपर्छ’ यति भनेर राजा महेन्द्र जुरुक्क उठेर गएको उनले बताइन्।
फेरि संघर्ष समिति नै गठन गरियो। श्रेष्ठ आइएमा पढ्थिन्। पुष्पलाल श्रेष्ठको बहिनी पुष्पलता, शशीकला शर्मालगायत बिएमा पढ्थे। शशीकला संघर्ष समितिको अध्यक्ष बनिन्। श्रेष्ठ पनि संघर्ष समितिको कार्यसमितिमा थिइन्। एक–एक गरेर उनीहरूलाई ‘रेस्टिकेट’ गरियो। फेरि तीन वर्ष श्रेष्ठको पढाइ छुट्यो।
पछि सन् १९५४ मा त्रिचन्द्र कलेजमा बिहानी सत्रमा कमर्स पढाउन थालियो। त्यहीँबाट श्रेष्ठले आइकम र बिकम पास गरिन्।
त्रिभुवन विश्वविद्यालय सुरुमा त्रिपुरेश्वरमा थियो। एमकम पढ्दै गर्दा त्रिवि किर्तिपुर सर्यो। त्यहाँ पुग्न सवारी साधन थिएन। र, पुग्न समस्या भएपछि उनले बीचमै पढाइ छोडिन्।
राजाको मन्त्री पद अस्वीकार
२०४५ सालमा राजा वीरेन्द्र रेडियो नेपालको निरीक्षणमा आए। १८ वर्षदेखि उनले रेडियो नेपालमा ज्यालामै काम गरिरहेकी थिइन्। श्रेष्ठले राजा वीरेन्द्रकै सामुन्ने ज्यालादारीमा काम गरिरहेको बताइन्। रेडियो नेपालका डाइरेक्टर भोजप्रसाद शाह थिए, चिरण थापा राजाको प्रमुख सचिव। राजा वीरेन्द्रले थापासँग श्रेष्ठको जागिरबारे सोधे। थापाले स्थायी भइसकेको भन्ने वित्तिकै श्रेष्ठले त्यसको प्रतिवाद गरिन्। लगत्तै राजा वीरेन्द्रले श्रेष्ठको अध्ययनबारे बुझे। र, श्रेष्ठको स्थायीका लागि चार दिनको समय दिए। प्रमुख सचिव थापाले बिहीबार दिउँसो २ बजे राजदरबारको पश्चिम ढोकामा श्रेष्ठलाई आउन भने।
राजा वीरेन्द्रले श्रेष्ठलाई भने, ‘हेर, हाम्रो देश अशिक्षित छ। तिमीले धेरै दुःख पायौ। अब दुःख पाउँदैनौं। यसले भनेको भन्दा १० मिनेट पहिले जानु। गरेन भने मलाई पत्र लेख्नु।’ श्रेष्ठलाई मनमा लाग्यो– मैले चिठ्ठी लेखे पनि राजाकहाँ जाँदैन।
उनी बिहीबार दिइएको समयभन्दा अघि राजदरबारको पश्चिम ढोकामा पुगिन्। तर, राजा वीरेन्द्रको अगाडि स्थायी बनाउने प्रतिवद्धता जनाएका थापाले श्रेष्ठलाई देख्नेबित्तिकै भने, ‘खोई त मन्त्री? खोई त सचिव?’
श्रेष्ठले जवाफ दिइन्, ‘किन तपाईंले भन्नुभएको थियो, मन्त्री र सचिवलाई सँगै लिएर आउनु?’
थापाले राजा र रानीलाई ठाडै बिन्ति गर्न सक्नेको त पछि पछि लागेर आउनुपर्ने भन्ने प्रतिउत्तर दिए। त्यसपछि श्रेष्ठ त्यहाँबाट फर्किन्। न त उनले राजालाई पत्र लेखिन्, न त अरु केही पहल गरिन्।
२०४६ सालपछि श्रेष्ठको नेतृत्वमा रेडियो नेपालमा कर्मचारी संघ गठन भयो। संघ गठनपछि श्रेष्ठको संघर्षले त्यहाँ पनि निरन्तरता पाइरह्यो। चाहे त्यो कर्मचारीको हकहितका लागि होस् चाहे व्यवस्थापन विरुद्ध। उनलाई एकदिन जागिर खोसिएको पूर्जी नै थमाइयो।
रेडियो नेपाल छाडेपछि श्रेष्ठको अर्को संघर्ष सुरु भयो। आर्थिक सहायताका नाममा सरकारले विभिन्न व्यक्तिहरूलाई रकम दिन्छ। अहिले पनि अर्बौ रकम आर्थिक सहायताका नाममा खर्च हुने गरेको छ। २०५० सालमा सरकारले ६१ करोड रुपैयाँ आर्थिक सहायताका नाममा बाँड्यो। त्यतिबेला प्रधानमन्त्री थिए, गिरिजाप्रसाद कोइराला। श्रेष्ठलगायत ६ जना मिलेर प्रधानमन्त्री कोइरालासहित १३ निकायविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे। त्यसको फैसला हुन ५ वर्ष लाग्यो।
२०५५ सालमा सर्वोच्चको पूर्ण इजलासले फैसला सुनायो, ‘सरकारी कोषबाट खाएको र खुवाएको देखियो, अबदेखि खान र खुवाउन पर्यो भने मापदण्ड खडा गरेर मात्रै गर्नू। मन्त्रिपरिषद् सचिवालयमा यही निर्देशन जान्छ।’ यस्तो फैसलापछि सर्वोच्च अदालतबाट दिउँसो मैनबत्ति जुलुस निकालियो।
००००
राजा वीरेन्द्रको हत्यापछि राजा ज्ञानेन्द्रले श्रेष्ठलाई केशरजंग रायमाझीमार्फत मन्त्री पदको प्रस्ताव राखेका थिए।
केशरजंगले श्रेष्ठलाई भने, ‘शान्ता बहिनी, तपाईंले धेरै दुःख पाउँनुभयो। यसपटक ज्ञानेन्द्र सरकारले सम्झनु भएको छ। तपाईंले भेट्नुपर्यो। राजा वीरेन्द्रले नै शान्ता श्रेष्ठलाई यो पद दिने भनेर निर्णय गर्नुभएको रहेछ। दाजुको निर्णयअनुसार नै राजा ज्ञानेन्द्रले तपाईंलाई नियुक्त गर्ने कुरा भएको छ।’ तर श्रेष्ठले रायमाझीको यस्तो प्रस्ताव ठाडै अस्वीकार गरिन्। किनभने राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको पालामा पनि श्रेष्ठलाई अनेक प्रस्ताव नआएका होइनन्। रायमाझीलाई श्रेष्ठको जवाफ थियो, ‘यो भूतले खाजा खाने बेला किन दरबार पस्ने म? सरकारको नियुक्तिमा किन जाने?’ रायमाझीले श्रेष्ठसँग कुरा गर्दा उनीसँगै केही वकिल पनि रहेछन्, पछि उनीहरू पनि श्रेष्ठलाई दबाब दिन आए। उनीहरूको प्रश्न थियो, ‘राजाले दिएको पद किन नलिनुभएको?’
श्रेष्ठले जवाफ दिइन्, ‘मेरो खुशी म जान्नँ। म कसको लागि जाने? विहे गरेकी छैन। छोरा–छोरी छैनन्। बाबुआमा बितिसके। दिदीहरूको बिहे भइसक्यो। कसको लागि गर्ने मैले? मैले यति धेरै संघर्ष गरेको देशको लागि नै हो। देशमा नै यस्तो भएपछि म किन जाने?’
००००
श्रेष्ठको संघर्ष राणाशासन फाल्नदेखि नेपालमा गणतन्त्र ल्याउँदासम्म पनि जारी रह्यो। माओवादी युद्धकालमा उनलाई दुई पटक सेनाले गिरफ्तार गर्यो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईको गुरु रहेको आरोप श्रेष्ठमाथि थियो। त्यतिमात्रै होइन, बम पड्काउनेदेखि बम बनाउनेसम्मको आरोप लगाइयो उनलाई। उनकै घरमा आएर सेनाले कोठामा खोजतलास गर्यो। किताबहरू हेरेपछि आँखामा पट्टी बाँधेर सेनाले भैरवनाथ गणमा पुर्यायो।
पहिलो पटक २०६० सालमा उनलाई १५ दिन, दोस्रो पटक २१ दिनसम्म त्यही गणमा राखियो। दोस्रो पटक त श्रेष्ठले ८० घण्टासम्म पानी पनि नखाएर अनशन बसिन्। बेहोस् भएपछि डाक्टर ल्याएर उनलाई उपचार र रिहा पनि गरियो।
उपराष्ट्रपतिमा उम्मेद्वारी
२०६२/६३ को आन्दोलन अघि कुनै पनि पार्टीमा सक्रिय नभएकी शान्तालाई जब सशस्त्र हिंसा छाडेर माओवादी शान्ति प्रक्रियामा आयो, त्यसले उर्जा थपिदियो। नेपालमा २००४ सालदेखिका हरेक आन्दोलनमा सहभागी हुँदै आएकी श्रेष्ठलाई लागेको थियो, १७ हजार मानिसको रगतले ल्याएको परिवर्तन त्यसै खेर जाने छैन। त्यहीकारण २००४ सालदेखि कुनै पनि राजनीतिक दलमा आवद्ध नभएकी उनले २०६२/६३ को आन्दोलनपछि माओवादी पार्टीबाट सक्रिय राजनीति गर्ने अठोट गरिन्।
सशस्त्र युद्धमा त होमिइनन् उनी, तर उनले माओवादीलाई सक्दो सहयोग गर्न भने छाडिनन्। आफ्नै घरमा कैयौं पटक माओवादी कार्यकर्तालाई लुकाएर राखिन्। श्रेष्ठको घर आसपासमा बहुदल भन्दा पञ्चायती व्यवस्थाका समर्थक बढी थिए। त्यसैले चुनौति पनि थियो उनलाई।
जनआन्दोलनपछि २०६३ सालको पुनस्र्थापित संसदमा माओवादीको सिफारिसबाट श्रेष्ठ पनि सांसद भइन्। २०६५ सालमा माओवादीकै समर्थनमा श्रेष्ठले उपराष्ट्रपतिमा उम्मेद्वारी दिइन्। त्यसबेला उनले २४४ मत ल्याइन्। तर, मधेशी जनअधिकार फोरमको सिफारिसमा उम्मेद्वारी दिएका परमानन्द झा उनलाई पराजित गर्दै उपराष्ट्रपतिमा विजयी भए।
उम्मेद्वारी दिनुअघि प्रचण्डले श्रेष्ठलाई भेट्न बोलाए। माओवादीबाट उपराष्ट्रपतिमा सिफारिस गरेको खबर उम्मेद्वारी दिनुभन्दा एक घण्टाअघि मात्र उनले थाहा पाएकी थिइन्।
‘सोच्दै नसोचेको कुरा सुन्दा सुरुमा त मलाई अचम्म लाग्यो। एक घण्टा पनि बाँकी छैन, कसैलाई सोध्न पनि पाएकी थिइनँ। सुरुमा त म भन्दा अझ राम्रो कोही छ भने उसलाई नै दिनु भनें,’ उनले भनिन्। तर श्रेष्ठलाई नै उपराष्ट्रपतिमा माओवादीले सिफारिस गरेको प्रचण्डले जानकारी दिए । श्रेष्ठलाई लाग्यो, ‘नाइँ भनौं भने सानो हुँदादेखि नै संघर्ष गर्दै आएँ, मौकामा नाइँ भन्यो भन्ने हुने। जाउँ भने हार्छु, थाहा छ त्यो पनि। जे हुन्छ, हुन्छ भन्ने लाग्यो र उपराष्ट्रपतिमा उम्मेद्वारी दिएँ,’ उनले भनिन्।
००००
श्रेष्ठको सक्रियता अहिले पनि घटेको छैन। उनले अहिले ‘शान्ता प्रतिष्ठान’ चलाइरहेकी छन्। अक्षय कोषमा २० लाख रुपैयाँ राखिएको र त्यसकै व्याजबाट संस्था चलिरहेको श्रेष्ठ बताउँछिन्। लेखनमा समेत रुचि राख्ने श्रेष्ठले यसबीचमा किताब लेखिन्, ‘शासकभित्रको शासक’। संघर्षका अनेक मैनादबाट लड्दै ल्याएको राजनीतिक परिवर्तन नागरिकको जीवनस्तरसम्म नपुग्दा भने श्रेष्ठलाई बेचैनी हुने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।