धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। आफूहरूका माग बेवास्ता गरेको भन्दै उनीहरूले बुधबारबाट उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन्।
आफूहरूको माग पूरा गर्न ध्यानाकर्षण गराउन तालाबन्दी गरिएको चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा विष्णु पोखरेलले बताए। ‘अब हामी एकहप्ता पर्खने छौं। त्यसपछि पनि माग सम्बोधन नभए समाजमा आबद्ध २७० जना चिकित्सकले सामूहिक राजीनामा दिने छौं,’ उनले भने।
आफूहरूको मुख्य माग बढुवा भएको पनि उनले स्पष्ट पारे। 'तीन वर्षदेखि प्रतिष्ठानमा बढुवा प्रक्रिया रोकिएको छ। बढुवा प्रक्रिया रोकिन्दा त्यसको क्षति प्रतिष्ठानले नै व्यहोर्नु परेको छ। समय अवधि अनुसार बढुवा नुहदा धेरै चिकित्सकहरू प्राध्यापक हुन पाएका छैनन्,' उनले भने, 'प्राध्यापक हुन नपाएपछि उनीहरूको वृत्ति विकास त रोकियो नै। त्यससँगै हुने तलव सुविधा पनि पाउन सकेका छैनन्। विद्यार्थीको भर्ना पनि हुन सकेको छैन।’
समाजका महासचिव डा एसपी रिमालले चिकित्सकको आन्दोलनले उपचार सेवालाई प्रभावित नबनाएको बताए। उनले सामूहिक राजिनामा निदएसम्मका लागि बिरामीको उपचार सेवामा रहेर नै आन्दोलित भइरहेको बताए।
चिकित्सकहरूले आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमा खर्च गर्नुपर्ने, फ्याकल्टीहरूलाई आवास उपलब्ध गराउन भवन निर्माण गर्नुपर्ने, विभागीय प्रमुखहरूको रोटेसन मिलाउनु पर्ने, शिक्षकहरूलाई टिचर्स ट्रेनिङ र अनुसन्धनात्मक तालिम दिनलाउनु पर्ने माग पनि उठाएका छन्।
यसैगरी प्रतिष्ठानबाट निस्केको क्लिनिकल फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानभित्र विद्युत चोरी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग पनि चिकित्सकहरूले राखेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान। तस्बिर : विकिमिडिया
चिकित्सक समाजले एकसाता अघि नै शिक्षाध्यक्ष प्राडा गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ।
आन्दोलन सुरु भएपछि गत माघ २६ गते समाज र प्रतिष्ठान पदाधिकारीबीच भएको वार्तामा उपकुलपतिलगायत पदाधिकारीहरूले माग सम्बोधन गर्ने आश्वासन दिएका थिए। तर १० दिन भन्दा बढी बितिसक्दा पनि दिएको आश्वासनअनुसार प्रगति नभएपछि तालाबन्दी गर्नु परेको समाजले जनाएको छ।
५ दिनदेखि काठमाडौंमा रहेका प्रतिष्ठानका उपकुलपति गिरीले चिकित्सक समाजको माग सम्बोधन गर्नकै लागि मन्त्रालय र लोकसेवा आयोगमा ताकेता गरिरहेको बताए।
उनले चिकित्सकहरूको माग जायज भएको बताए। ‘उहाँहरूकै काम गर्न भनेर म पनि कुदी रहेछु। उहाँहरूको बढुवा प्रक्रियाको फाइल लोकसेवा आयोगमा अगाडि बढेको छ । यो एक सातामात्र काम हुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।