काठमाडौं– नेपाली कांग्रेस आवद्ध युवा–विद्यार्थीहरूले पार्टीलाई एक ढिक्का बनाउने गरी आचारसंहिता लागू गर्न माग गरेका छन्। आज केन्द्रीय कार्यसमितिलाई अपील लेख्दै उनीहरूले एकले अर्कालाई अरोप–प्रत्यारोप लगाउने काम बन्द गर्न समेत माग गरेका छन्।
‘व्यक्ति बलियो हुने प्रवृत्तिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउनेगरी पार्टीका सबै नेताहरुलाई एउटै मालामा गास्नु अहिलेको आवश्यकता हो’, अपील पत्रमा भनिएको छ।
उनीहरूले नेकपामा पार्टी विभाजन नभई मत विभाजनमा मात्रै रहेको बताएका छन्। त्यसकरण अरु पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठबन्धन गर्न आवश्यक नरहेको उनीहरूको भनाइ छ।
‘वर्तमान राजनीतिक घटनाक्रमका विषयमा कांग्रेस नेतृत्वले लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको छ। तर, विगतमा पार्टीले आयोजना गरेका विरोध सभाहरुमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कालाई प्रहार गर्नेगरी राखिएका धारणा पार्टी हितमा छैनन्’, अपीलमा भनिएको छ।
उनीहरूले कांग्रेसले महाअधिवेशनको नयाँ मिति चाँडै टुंगो लाउनुपर्ने पनि बताएका छन्। लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक अभ्यासबाट आफ्नो दलको नेता चुन्ने प्रकृया जति ढिलो हुँदै जान्छ त्यो दलको लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास समेत खस्किँदै जाने उनीहरूको भनाइ छ। आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यी विषय मध्यनजर गर्दै ठोस निर्णय गर्नुपर्ने उनीहरूको माग छ।
विश्वदिप लामिछाने, शिव चालिसे, एलिजा ढकाल, ज्योती बोगटी थापा, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, हेमन्त बन, बुद्धराज रिसाल, तारा गौतम, राजन कटुवाल (केसी), देवेन्द्र बर्मा, राविश शर्मा, सुबास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेश लुइँटेल, शिव श्रेष्ठ, गोबिन्द बानियाँ लगायतले अपील पत्र बुझाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।