काठमाडौं- निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार रूपैयाँ तोकेको हो।
यसअघि निजी अस्पतालहरुले आफूखुसी तलब दिँदै आइरहेका थिए। केही अस्पतालले मेडिकल अफिसरको मासिक तलब २० हजारसम्म दिने गरेको पाइएको छ।
संघ र अफिनले सरकारी सेवामा रहेका मेडिकल अफिसर सरह निजी अस्पतालमा काम गर्नेले पनि तलब पाउनु पर्ने भन्दै ४२ हजार तलब तोकेको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए।
'निजी अस्पतालमा काम गर्नेहरुले पनि सरकारी सरहकै सुविधा पाउन सकुन् भनेर न्यूनतम तलब तोकिएको हो' उनले भने, 'यसअघि निजी संस्थामा न्यूनतम तलबमा एकरुपता थिएन। धेरैले निकै कम तलब दिने गरेको समेत पाइएको छ। त्यसकारण न्यूनतम शुल्क तोक्नु परेको हो।'
उनले अफिनले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरुमा पत्राचार गर्ने तयारी गरेको समेत जानकारी दिए। संघ र अफिनको आज बसेको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ।
बैठकले आजैको मितिदेखि लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ रूपैयाँसम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्। अफिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।