बर्मा- म्यान्मारमा सैन्य कूविरुद्ध जारी विरोधलाई दमन गरिए सेनाले ‘गम्भीर परिणाम’ व्यहोर्नुपर्ने चेतावनी संयुक्त राष्ट्रले दिएको छ। म्यान्मारका लागि राष्ट्रसङ्घका विशेष दूत क्रिस्टिन श्रानेर बर्गेनरले नागरिककाे ‘शान्तिपूर्वक भेला हुन पाउने अधिकारको सम्मान’ गरिनुपर्ने बताएकी छन्।
लगातार दुई दिन राति काटिएको इन्टरनेट मङ्गलबार बिहानदेखि चल्न थालेको थियाे। सेनाले यसरी विराेधमा उत्रेका जनतालाई २० वर्षसम्म कैदकाे सजाय गर्ने चेतावनी पनि दिएकाे थियाे।
माघ १९ गते सेनाले देशको शासन आफ्नो हातमा लिएपछि विरोधको स्वर दबाउन इन्टरनेट सेवामा नियन्त्रण गर्दै आएको छ।
राष्ट्रसङ्घीय विशेष दूतले सैन्य सरकारका उपप्रमुखलाई सोमवार फोनवार्ताको क्रममा चेतावनी दिएको राष्ट्रसङ्घका एक प्रवक्ताले बताएका छन्।
श्रानेर बर्गेनरले इन्टरनेट बन्द गरिएकोमा पनि आपत्ति प्रकट गरेकी छन्।
अहिले पनि म्यान्मारमा विरोधप्रदर्शन क्रम रोकिएको छैन। सैन्यहरुले विराेध प्रदर्शनमा जानेहरुलाई पक्राउ गर्न थालेपछि शहरमा समूह-समूहमा जाग्राम बस्न थालिएकाे छ। विराेधका कारण निजी बैंक र सपिङ मलहरु समेत बन्द हुन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।