काठमाडौं- च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ मा मंगलबार राति दुई खेल हुँदैछन्। जसमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब लाइपजिग साथै स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी खेल्नेछन्। खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ।
बार्सिलोना र पिएसजीबीचको खेल यसअघि २०१६–१७ को च्याम्पियन्स लिगमा भएको भेटसँग जोडेर तुलना भइरहेको छ। २०१६–१७ को च्याम्पियन्स लिगमा पहिलो लेग ४–० ले जितेको पिएसजीलाई दोस्रो लेगमा ६–१ ले हराउँदै बार्सिलोनाले सनसनी खेल देखाएको थियो। त्यही अवस्थापछि दुई क्लबबीच यो सिजन अन्तिम १६ को खेलमा मंगलबार राति भेट हुँदैछ।
त्यसअघि २०१४–१५ को च्याम्पियन्स लिग समूह चरणमा पहिलो खेल पिएसजीले ३–२ ले खेल जितेको थियो। अर्को खेलमा बार्सिलोना ३–१ ले विजयी भएको थियो। त्यही सिजन क्वाटरफाइनलमा भएको भेटमा पहिलो लेगमा ३–१ र दोस्रोमा २–० जित्दै समग्रमा ५–१ ले बार्सिलोना विजयी भएको थियो।
२०१२–१३ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भेट हुँदा बार्सिलोना अवे गोलका आधारमा अघि बढेको थियो। पहिलो खेल पिएसजीको मैदानमा २–२ को बराबरी खेलेको पहिलो लेगपछि बार्सिलोना मैदानमा १–१ को बराबरी भएको थियो।
त्यसअघि १९९४–९५ को सिजन च्याम्पियन्स लिग क्वाटरफाइनलमा भेट हुँदा पिएसजी अघि बढेको थियो। पहिलो खेल १–१ को बराबरी भएको प्रतिस्पर्धामा दोस्रो खेल पिएसजीले २–१ ले जितेको थियो।
अहिले पिएसजीका नयाँ प्रशिक्षक मोउरिसियो पोचेटिनोका लागि बार्सिलोनासँगको च्याम्पियन्स लिगमा पिएसजीबाट पहिलो खेल हुनेछ। बार्सिलोनामा पुनर्निर्माणको चरणमा रहेका प्रशिक्षक रोनाल्ड कोम्यानका लागि पनि बलियो प्रतिस्पर्धी पिएसजीविरुद्ध आफ्नो क्षमता जाँच्ने मौका हुनेछ।
च्याम्पियन्स लिगमा यसअघि लगातार १३ पटक क्वाटरफाइनलमा पुगेको बार्सिलोनाका लागि अहिलेको पिएसजीविरुद्ध सहज हुने छैन। अन्तिम पटक बार्सिलोना २००६–०७ को च्याम्पियन्स लिगमा लिभरपुलसँग २–२ को बराबरी हुँदा अवे गोलका आधारमा बाहिरिएको थियो।
बार्सिलोनासँगको खेलमा पिएसजीका स्टार खेलाडी नेमार चोटका कारण हुने छैनन्। यसैगरी बार्सिलोनाका जेरार्ड पिके अभ्यासमा सामेल भए पनि खेलमा आउने सम्भावना न्यून छ। रोनाल्ड आरुखो, फिलिप कोउटिन्हो, सर्जि रोबर्टो र अन्सु फाती चोटकै कारण बाहिर छन्।
के भन्छन् प्रशिक्षक?
पिएसजे बलियो टिम हो, बलमा नियन्त्रण बनाएर खेल्ने प्रयास गर्नेछौँ : रोनाल्ड कोम्यान, बार्सिलोना
हामी उत्साहका साथ पिएसजीविरुद्धको खेलमा जाँदै छौँ। हामीले पहिलेदेखि नै पेरिससँगको खेल कठिन खेल हुनेछ भन्ने बुझिरहेका छौँ। किनभने पेरिस बलियो टिम हो। हामी बलमा नियन्त्रण बनाएर खेल्ने प्रयास गर्नेछौँ। त्यसले विपक्षीलाई दबाबमा राखेर अवसर उपयोग गर्न सकिने विश्वास छ। गोल नखाई खेल सकाउन सके महत्वपूर्ण हुनेछ।
यो खेल मेरा लागि विशेष छ : मोउरिसियो पोचेटिनो, पिएसजी
म पिएसजीमा आएको धेरै नभए पनि यो खेल मेरा लागि विशेष छ। टिमका लागि झनै विशेष छ। च्याम्पियन्स लिगको उपाधि जित्नु पिएसजीको पहिलो उद्देश्य हो। अवस्थाहरु जस्तो भए पनि हामी बार्सिलोनाविरुद्धको खेलका लागि तयार छौँ। त्यसमा एकदम शान्त भएर सोचिरहेको छु। टिममा केही नयाँ परिवर्तनको विकास गर्ने चरणमा नै म छु।
सम्भावित सुरुवाती ११
बार्सिलोना– टेर स्टेगेन, डेस्ट, मिन्गोएजा, लङलेट, अल्बा, डि योङ, बुस्केट्स, पेड्री, मेस्सी, ग्रिजम्यान र डेम्बेले।
पिएसजी– नाभास, फ्लोरेन्जी, माक्र्विनस, किमपेम्बे, कुरजावा, गुए, भेराटी, पाराडेस, किन, इकार्डी र एमबाप्पे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।