काठमाडौं- च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ मा मंगलबार राति दुई खेल हुँदैछन्। जसमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब लाइपजिग साथै स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी खेल्नेछन्। खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ।
लिभरपुल र लाइपजिगबीच प्रतिस्पर्धात्मक खेलमा यो पहिलो भेट हुनेछ। इंग्लिस टिमसँग भने लाइपजिगले गएको सिजन अन्तिम १६ मा टोटनह्यामसँग र यही सिजन समूह चरणमा म्यानचेस्टर युनाइटेडसँग खेलेको थियो। लिभरपुल जर्मन विपक्षीविरुद्ध पाँच अवे खेलमा अपराजित रहेको छ। तीन खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ।
गएको सिजन सेमिफाइनसम्म पुगेको लाइपजिगसँगको खेल लिभरपुललाई सहज हुने छैन। यो सिजन लिभरपुल प्रिमियर लिगमा समेत कमजोर बनिरहेको छ। लिभरपुल लिगमा छैठौं स्थानमा रहेको छ। जहाँ बुन्डेस लिगामा लाइपजिग बायर्न म्युनिकभन्दा तल दोस्रो स्थानमा रहेको छ।
लाइपजिगले च्याम्पियन्स लिगमा अहिलेसम्म खेलेका २२ खेलमा १२ खेल जितेको छ। ७ खेल हारेको छ भने ३ खेल बराबरी खेलेको छ। लिभरपुल च्याम्पियन्स लिगमा १३औं पटक खेलिरहेको छ, जसमा यो नवौं पटक अन्तिम १६ को खेल खेल्नेछ।
आफ्नो पूर्वक्लब लाइपजिगविरुद्ध खेल्न लिभरपुलका नाबी केटिया मैदानमा हुने छैनन्। भर्खरै चोटमुक्त भएका उनी अहिले आराममा नै छन्। लाइपजिगका विंगर जस्टिन पनि घुँडाको चोटका कारण मैदानमा हुने छैनन्।
के भन्छन् प्रशिक्षक?
जुलियन नागेल्सम्यान, लाइपजिग
पछिल्ला चार खेलको नतिजाले हामी अहिले राम्रो लयमा छौं। लिभरपुलसँग सहज भने हुने छैन। तर, हामीले युरोपका उत्कृष्ट टिमलाई हराउन सक्छौं भनेर देखाइसकेका छौं। प्रिमियर लिगमा लिभरपुलको अवस्था जस्तो देखिए पनि उनीहरुविरुद्ध खेल्न राम्रो कसैलाई लाग्दैन। उनीहरु प्रशिक्षकको योजना मैदानमा राम्ररी देखाउँछन्। उनीहरु प्रिमियर लिगको प्रतिस्पर्धाबाट पर भएकाले पनि च्याम्पियन्स लिगमा सक्दो गर्नेछन्।
योर्गेन क्लोप, लिभरपुल
हामीले हाम्रो राम्रो पक्षलाई निरन्तरता दिनुपर्ने छ। पछिल्ला खेलहरुमा म्यानचेस्टर सिटी र लेस्टर सिटीसँगको प्रतिस्पर्धा हेर्ने हो भने त्यो खेल सात गोल खाएर दुई गोल गर्ने जस्तो होइन नै। त्यसमा केही खेलाडीको गल्तीले नतिजामा असर गरेकै हो। यस्तो अवस्थामा हामी सबै साथ रहेर नै अघि बढ्नेछौँ। पक्कै राम्रो हुनेछ।
सम्भावित सुरुवाती ११
लाइपजिग- गुलची, क्लस्टरमेन, अर्बान, उपामेकानो, मुकिले, सबित्जर, काम्पल, एन्जेलिनो, एनकुन्कु, ओल्मो र पोउलसेन।
लिभरपुल- एलिसन, अलेक्जेण्डर आर्नोल्ड, काबाक, हेन्डरसन, रोबर्टसन, थियागो अलकान्टारा, विज्नाल्डम, जोन्स, सलाह, फर्मिनो र माने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।