काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा दायर गरेका १३ निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ। सोमबार निवेदक पक्षको जवाफी बहस सकिएपछि मंगलबारबाट एमिकस क्युरीले राय पेस गर्ने भएको हो।
एमिकसमा पाँच जना रहेका अधिवक्ताहरू छन्। सर्वोच्च बारबाट मगाइएका २ जना र नेपाल बार एसोसिएसनबाट मगाइएका तीन जनाले राय पेस गरेपछि प्रतिनिधि सभा विघटनको मुद्दामा बहस सकिनेछ।
यसपछि भने संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोक्न सक्नेछ।
सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, गाेविन्द बन्दी, कृष्णप्रसाद भण्डारी र टीकाराम भट्टराईसहितले विघटनका विरुद्धमा बहस गर्दै संसद् पुनर्स्थापनाका पक्षमा बहस गरेका थिए।
यसअघि नै सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरेका थिए। मुद्दामा बहस भने निवेदक पक्षबाट सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।