काठमाडौं- आर्मी क्लबले तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ। कञ्चनपुरको महेन्द्रनगरमा भएको प्रतियोगिताको अन्तिम खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
आर्मीका लागि निलिमा पाण्डेले ३९औं र ५६औं मिनेटमा गोल गरिन्। ५ टिम सहभागी राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा आर्मीले शत प्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो। जसमा आर्मीले सर्वाधिक १२ अंक जोड्यो। ४ खेलमा ३ मा जित र १ मा हार व्यहोरेको सुदूरपश्चिम ९ अंकसहित दोश्रो भयो।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा समान २–२ मा जित/हार निकालेको प्रदेश-२, ६ अंकसाथ तेश्रो स्थानमा रह्यो। शीर्ष तीन स्थानमा रहने टोलीले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाए।
सान्त्वना जित निकालेको गण्डकी प्रदेश चौंथो भयो। आइतबारै गण्डकीले प्रदेश-१ लाई २–० ले हराउँदै खाता खोलेको थियो। जितमा दुवै गोल सोनु बरालले क्रमशः २५औं र ३६औं मिनेटमा गरेकी थिइन्। ३ मा हार र १ मा जित आत्मासात् गरेको गण्डकीले ३ अंक जोड्यो। सबै ४ खेल गुमाएको प्रदेश १ अंकविहीन बन्दै पुछारमा रह्यो।
सुदूरपश्चिमकी लक्ष्मी बम प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। प्रतियोगिता अवधिभर ८ गोल गरेकी आर्मीकी निलिमा पाण्डे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन्।
सुदूरपश्चिमकी ममता भट्ट उदीयमान खेलाडी चुनिइन्। गण्डकीकी प्रेमा परियार उत्कृष्ट गोलरक्षक बनिन्। चारैले जनही ५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।