काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लामा नौ वटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको छ। गण्डकी प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमको शिलशिलामा पोखरामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच सम्झौता भएको हो।
पोखराको जेष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ। ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ।
त्यस्तै, लमजुङको राइनस नगरपालिका–६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। ५५ लाख ९२ हजार १ सय ६१ रुपयाँ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ।
राखेपले लमजुङ कभर्डह निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मामा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको बेनी नगरपालिकास्थित् रत्नेचौर बहुउद्देश्यीय खेलमैदानका लागि १० लाख, बाग्लुङमा मदन भण्डारी कभर्डह निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरोन्नतीका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
राखेपका सदस्य सचिव सिलवाल र सम्बन्धित उपभोक्ता समितिसँग आइतबार नै सम्झौता भएको हो। सम्झौतामा उल्लेख भए अनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरि सक्नु पर्ने छ। सम्झौताका अवसरमा राखेप सदस्यद्वय राजेश गुरुङ, रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलवहादुर थापा र अर्जुन बिकलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।