काठमाडौं- योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्डन प्रतियोगिताको उपाधि एपिएफकी जेशिका गुरुङ र एपिएफकै दिपेश धामीले जितेका छन्। चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिलातर्फ एपिएफकी जेशिका गुरुङले जितको निरन्तरता कायम राखेकी हुन्।
यसअघि सिरहाको गोलबजारमा सम्पन्न १०औं पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा सेनाकी रशिला महर्जनलाई पराजित गर्दै उपाधी जितेकी उनले यस प्रतियोगितामा पनि रशिलालाई नै फाइनलमा हराइन्। उनले २१–१८, १७–२१ र २१–१७ ले हराइन्।
यस्तै, एपिएफका धामीले २१–१९, २२–२० को जितका साथ उपाधी उचालेका हुन्। धामी गोलबजारमा भएको पुष्पलाल स्मृति र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा फाइनलमा प्रिन्स दाहालसँग पराजित भएका थिए।
महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गरे। यस्तै, दोस्रोले ५५ हजार र तेश्रो हुने दुईले समान १५ हजार रुपैयाँ पुरस्कार पाए। राष्ट्रिय २० वरियता भित्रका खेलाडीहरुबीच भएको पुरुष युगलतर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी विजयी भयो। फाइनलमा नविन र रत्नको जोडीले एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१–११, २१–१५ ले पराजित गरे। विजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८–८ हजार प्राप्त गरे।
सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा विजयी भएका छन्। महर्जन र लिनथेपको जोडीले फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै राष्ट्रिय २० वरियता बाहेकका खेलाडीहरुबीच भएको प्रतिस्पर्धाको ट्रफी उचालेका हुन्।
उनीहरुले ५० हजार रुपैयाँ पुरस्कार पाए। दोस्रो हुनेले २५ हजार र तेस्रो हुने दुई जोडीले समान ७ हजार रुपैयाँ पुरस्कार पाए। ब्वाइज यु-१७ तर्फको खेलमा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधी उचाले।
गर्ल्सतर्फ भने सेनाकी रशिला महर्जनले जित हात पार्दै उपाधी कब्जा गरिन्। उनले कैलालीकी प्राथना देउवालाई २१–१५, २१–१० ले पराजित गरिन्। विजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे। दोस्रो हुनेले १५ हजार र तेश्रो हुनेले ५ हजार प्राप्त गरे।
यस्तै, ५५ वर्षमाथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्वअध्यक्ष पुष्प श्रेष्ठको जोडीले उपाधि जिते। चौधरी र श्रेष्ठको जोडीले बागलुङका राजेन्द्र शाक्य र धादिङका विष्णुलाल श्रेष्ठको जोडी लाई २१–१२, २१–१५, २१–१४ ले पराजित गरे। विजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे। दोस्रो हुनेले १५ हजार र तेश्रो हुनेले ५ हजार पाए।
पुरुष ४५ वर्षमाथिको प्रतिस्पर्धामा पिस एफसीका पुर्णहरि होना र संजय कपालीको जोडीले विजयी भए। होना र कपालीको जोडीले कैलालीका वीरेन्द्र सिंह बिष्ट र बाँकेका अनिल लाखेको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि उचालेका हुन्। उनीहरुले नगद ३० हजार पुरस्कार पाए। उपविजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ५ हजार प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।